राष्ट्र बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन जटिल बन्दै

काठमाडौं । वैशाख ३१ , वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्दीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन जटिल बन्दै गएको छ ।
बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा प्रयोग गर्दा पनि अन्तर बैंक दर नबढेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणसमेत प्रयोग गर्नु परिरहेको छ ।
यसै साता आइतबार मात्रै ३० अर्बको निक्षेप संकलन गरेको राष्ट्र बैंकले बुधबार पनि ३५ अर्बको निक्षेप संकलन आह्वान गरेको छ । एक सातामा ७५ अर्बको निक्षेप संकलन आह्वान गर्दा पनि अन्तर बैंक दर भने ब्याजदर करिडोरको तल्लो सीमाको दर भन्दा तल छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भएको अवस्थामा अन्तर बैंक दर घट्छ । पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलता छ । बैंक तथा वित्तीय संस्थाले घट्दो ब्याजदरमा पनि कर्जा लगानी बढाउन नसक्दा प्रणालीमा अधिक तरलताको समस्या कायम छ ।
बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह भन्दा पनि पुराना कर्जा असुलीमा व्यस्त भएसँगै वित्तीय प्रणालीको निक्षेप केन्द्रीय बैंकमा थुप्रिएको हो ।
बुधबारसम्ममा वित्तीय प्रणालीको ३ खर्ब ३५ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा छ। यो पैसा स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन उपकरण मार्फत केन्द्रीय बैंकले खिचेको हो । मंगलबार वित्तीय प्रणालीको कुल तरलता ७९ अर्ब छ ।
केन्द्रीय बैंकका अधिकारीहरूले पनि ब्याजदर करिडोरअन्तर्गत अल्पकालीन ब्याजदर कायम गर्न स्थायी निक्षेप सँगै निक्षेप संकलन उपकरण प्रयोग गरेको बताउँछन् ।
स्थायी निक्षेप सुविधाबाट अन्तर बैंक दरमा सुधार नआए केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्छ। पछिल्लो समयमा अन्तर बैंक दर ३ प्रतिशत भन्दा तल आएपछि साताको दुई पटकसम्म निक्षेप संकलन गरेको राष्ट्र बैंकका एक अधिकारीको भनाइ छ ।