अस्कलका स्ववियु सचिव शाहीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सहयात्रा टिभी
काठमाडौं । वैशाख ३१ , नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिँदै गरेको अवस्थामा पक्राउ परेका अमृत साइन्स क्याम्पस (अस्कल)का स्ववियु सचिव गोपालबहादुर शाहीसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरले गरेको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालय, बबरमहलले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
शाहीसहित १४ जनाविरुद्ध लोकसेवा ऐन र लिखतसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ ।
मुद्दा दायर हुनेहरूमा लैनचौरमा रहेको अस्कल क्याम्पसका स्ववियु सचिव शाहीसहित सप्तरीको तिलाठी कोइलाठी गाउँपालिका–१ का २० वर्षीय उमेश कुमार झा, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का २२ वर्षीय आकाश खड्का भनिने तिलक खड्का, जुम्लाको तिला गाउँपालिका–३ का २२ वर्षीय मुनबहादुर रावत, सुर्खेतको लेकबेशी नगरपालिका–५ का २२ वर्षीय मनोज शर्मा भनिने मनोज बाबु शर्मा, दोलखाको जिरी नगरपालिका–९ का २३ वर्षीय मोहन सुनुवार छन् ।
उनीहरूलाई ६ वैशाखमा प्रहरीले मध्य बानेश्वरस्थित रत्न राज्य क्याम्पसबाट पक्राउ गरेको थियो । त्यसबाहेकका आठ जनालाई भने फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ ।


