ऋषिङ गाउँपालिका अध्यक्ष श्रेष्ठविरुद्धको जाहेरी दर्ता

सहयात्रा टिभी

काठमाडौं । जेठ १ , जग्गा विवादमा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले घरमा बोलाएर ५७ वर्षीय प्रभात आलेलाई कुटपिट गरेको आरोप छ । भीमादको मालेबजारमा गाउँपालिका अध्यक्ष श्रेष्ठले आले परिवारको जग्गा खरिद गरेका थिए ।

त्यो जग्गाको विषयमा उनीहरुबीच ७/८ वर्षदेखि विवाद छ । श्रेष्ठले सहमति गर्न बोलाएर आफूलाई एक्कासी कुटपिट गरेर ज्यान मार्न खोजेको भन्दै आलेले प्रहरीमा उजुरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख इन्सपेक्टर पोषण थापाले गाउँपालिका अध्यक्ष श्रेष्ठविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गरे ।

त्यसबारे अध्ययन भइरहेको उनले जानकारी दिए । पीडित भनिएका प्रभात आले र पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ दुबै सम्पर्कमै रहेको इन्स्पेक्टर थापाले बताए ।

प्रभात आले २०१५ सालमा तनहुँबाट कांग्रेस सांसद बनेका पदमबहादुरका छोरा तथा गण्डकी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका सांसद जीतप्रकाश आलेका भाइ हुन् ।

 

प्रकाशित : 15 May, 2025

प्रतिक्रिया दिनुहोस्