नागढुंगामा कुट्ने ट्राफिक र कुटाई खाने प्रहरी दुवैको जिम्मेवारी खोसियो

काठमाडौं । जेठ १ , नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टरले प्रहरीका एक जवानलाई कुटेको भिडिओ बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो ।
भिडिओ सार्वजनिक भएपछि प्रहरीले छानबिन गर्दा कुट्ने र कुटाई खाने दुवैको पहिचान भयो । कुट्ने ट्राफिक प्रहरी इन्स्पेक्टर जितेन्द्रकुमार साह र कुटाई खाने प्रहरी जवान मदन खड्काको जिम्मेवारी खोसिएको छ ।
ड्युटीमा रहेको बेला बर्दीमै मध्यसडकमा हातपातमा उत्रिएपछि दुवै जनाको जिम्मेवारी खोस्दै अनुसन्धान अघि बढाइएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालले एक विज्ञप्ति जारी गर्दै छानबिनका लागि दुवैलाई जिम्मेवारीबाट हटाइएको बताए ।
यो विवाद के हो भन्नेबारे प्रहरीले आन्तरिक छानबिन अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार अहिलेसम्मको छानबिनले कुटाइ खाएका प्रहरी जवानले काठमाडौं छिर्न लागेका गाडीहरुबाट अवैध रुपमा रकम उठाएको खुलेको छ ।
‘घटना हुने बेला भारतीय नम्बर प्लेटको गाडी काठमाडौं छिर्न लागेको रहेछ । प्रहरी र ट्राफिक दुवै आ-आफ्नो ड्युटीमा रहेछन् । त्यही बेला जवानले भारतीय गाडीबाट रुपैयाँ लिएको भन्ने देखिएको छ’, एक प्रहरी अधिकृतले भने, ‘रकम नै लिएको भए पनि कुटपिट गर्न नमिल्ने भएकाले इन्स्पेक्टरमाथि पनि छानबिन गरिएको हो । गलत गरेमा विभागीय कारबाही गर्नुका साटो हातपातमा उत्रनु राम्रो होइन ।’