उमागौरी बचत अपचलन मुद्दाको सक्कल मिसिल झिकाउने आदेश

सहयात्रा टिभी

काठमाडौं । जेठ १ , उच्च अदालत विराटनगरले उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दाको सक्कल मिसिल झिकाउने आदेश दिएको छ ।

जिल्लाको आदेशविरुद्ध परेको निवेदनको सुनुवाइका लागि बिहीबार कामु मुख्यन्यायाधीश ध्रुवराज नन्दको इजलासले सक्कल मिसिल झिकाउने आदेश दिएको हो ।

यो सहकारीको बचत अपचलन मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला पनि प्रतिवादी छिन् ।

जिल्ला अदालत मोरङले पुर्पक्षका लागि १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सरकारी वकिल उच्च अदालत पुगेको थियो । उच्चमा दुई न्यायाधीशबीच राय बाझिएपछि अर्को बेञ्च तोकिएको थियो ।

मोरङको धनपालथान–४ स्थित उमागौरी सहकारी संस्थाको बचत अपचलन मुद्दामा कोइरालासहित ६ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि धरौटीमा छाडेको थियो । अध्यक्ष सम्भुप्रसाद रौनियारसहित दुई सञ्चालकलाई थुनामा पठाएको थियो ।

जिल्लाको आदेशविरुद्ध परेको रिटको सुनुवाई गर्ने क्रममा बैशाख ११ गते उच्च अदालत विराटनगर न्यायाधीश श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बाँस्तोलाको राय बाझिएको थियोे ।

न्यायाधीश श्रीधराकुमारी पुडासैनीले जिल्लाको आदेशलाई सदर गर्ने राय दिएकी थिइन् । तर न्यायाधीश केशवप्रसाद बाँस्तोलाले भने पुडासैनीको रायमा असहमति जनाउँदै धरौटी बढाएर १ करोड बढाउनु पर्ने राय दिएका थिए । त्यसपछि पुर्पक्षको आदेशका लागि अर्को बेञ्च तोकिएको हो । यो मुद्दाको अर्को सुनुवाइ बिहीबार हुनेछ ।

 

प्रकाशित : 15 May, 2025

प्रतिक्रिया दिनुहोस्