गभर्नर नियुक्तिमा सरकारले प्रपञ्चहरू गरिरहेको प्रचण्डको आरोप

सहयात्रा टिभी

काठमाडौं । जेठ २ ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले अनेक खालका चलखेल र प्रपञ्चहरू गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार बैतडीको पाटनबाट जनतासँग माओवादी- मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुनुपर्ने पद हो । अहिलेसम्म सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन । त्यसमा अनेक खालका चलखेल र प्रपञ्चहरू भइराखेका छन्,’ प्रचण्डले भने ।

उनले अगाडि भने, ‘यो सबै कारणले सरकार गलत दिशा तिर गएको छ । राष्ट्र र जनताको हित विपरीत गएको छ । यो देशका मजदुर किसानहरूको हित विपरीत गएको छ ।’

सरकारको गलत कदमविरुद्ध आफूहरू चुनौती दिएर हिँडिरहेको उनको भनाइ छ । उनले भने, ‘अझै पनि हामी यो मध्य पहाडी लोकमार्गसम्म जाँदा सरकारलाई खबरदारी र चुनौती दिँदै जाने छौं । हाम्रो कुराको बिल्कुल सुनवाइ सरकारले गर्न चाहेको छैन, उल्टो दिशा तिर हिँडेको छ ।’

 

प्रकाशित : 16 May, 2025

प्रतिक्रिया दिनुहोस्