गाजामा आक्रमणमा परेर अहिलेसम्म एक सय १४ जनाले ज्यान गुमाए

काठमाडौं । जेठ २ , हिजो मध्यरातदेखि गाजामा इजरायलले गरेको हवाई आक्रमणमा परेर अहिलेसम्म एक सय १४ जनाले ज्यान गुमाएका छन् ।
दक्षिणी गाजाको खान युनिस शहरमा कम्तीमा नौ अलग–अलग ठाउँमा आक्रमण भएको हमासले सञ्चालन गरेको नागरिक रक्षा एजेन्सी र उद्धारकर्मीहरूले बताएका छन् ।
इजरायलले १० हप्तादेखि गाजामा राहत सामग्री प्रवेशमा प्रतिबन्ध लगाएर हवाई आक्रमणलाई पनि तीव्रता दिएको बीबीसीले जनाएको छ । इजरायलले गाजामा पत्रकारहरूको प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ ।
गाजामा बालबालिकाहरू खान नपाएर छटपटाइरहेका छन् भने उनीहरूलाई खुवाउन केही पनि नभएकाले महिलाहरू पीरमा रहेका खबरमा उल्लेख छ ।
नाकाबन्दीका कारण त्यहाँको अवस्था झनै बिग्रिएको छ । तर इजरायली सरकारले भने गाजामा खाद्यान्नको अभाव नभएको दाबी गरेको छ ।
इजरायल र हमासबीच सन् २०२३ को अक्टोबर ७ मा युद्ध शुरू भएको थियो । त्योबीचमा केही समय युद्धविराम भए पनि फेरि सम्झौता भङ्ग भएपछि इजरायलले गाजामा तीव्र हवाई आक्रमण गरिरहेको छ ।