विश्वभरका प्रतिनिधिबाट मानवताको भविष्य रक्षा गर्न ऐक्यबद्धता

सहयात्रा टिभी

काठमाडौं । जेठ २ , सगरमाथा संवादमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले मानवताको भविष्य रक्षा गर्न एकता र ऐक्यबद्धताका लागि आह्वान गरेका छन्।

काठमाडौंमा शुक्रबारबाट सुरु बहुप्रतीक्षित सगरमाथा संवाद कार्यक्रमको उद्घाटन तथा पूर्ण सत्रका प्रतिनिधिले पहाड र त्यसभन्दा बाहिर जलवायु परिवर्तनका कारण परिरहेका प्रभाव तथा मानवताको भविष्य रक्षा गर्न एकता र ऐक्यबद्धताका लागि आह्वान गरेका हुन् ।

नेपाल, भारत, चीन, पाकिस्तन, बंगलादेश, भुटान, बेलायत, संयुक्त अरब इमिरेट्स, जापान, कतार, किर्गिस्तान, ब्राजिल, इजिप्ट, ओमान लागयत देशका प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।

यस्तै, अन्तरराष्ट्रिय र क्षेत्रीय संगठनहरू संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एसियाली विकास बैंक, सार्क, बिम्स्टेक, इसिमोडका प्रतिनिधिले पनि यस्तो ऐक्यबद्धताका लागि आह्वान गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद ब्यानरको अनावरण गरी संवादको औपचारिक उद्घाटन गरेका थिए । आफ्नो सम्बोधनअघि, प्रधानमन्त्री ओलीले आधिकारिक रूपमा सरकारको राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी) अनावरण गरेका थिए भने कोप–२९ का अध्यक्ष मुख्तार बेबायेभलाई हस्तान्तरण गरेका थिए ।

यस्तै, कोप २९ का अध्यक्षता तथा जलवायु मुद्दाहरूमा अजरबैजान गणतन्त्रका राष्ट्रपतिका प्रतिनिधि मुख्तार बाबायेभले आफ्नो मुख्य भाषण दिँदै जलवायु परिवर्तनका धेरै आयामहरू र पहाडहरूमा पर्ने प्रभावलाई सम्बोधन गर्न आवश्यक विकल्प र समाधानबारे धारणा राखे ।

यस्तै, भारत सरकारका वातावरण, वन र जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवले सत्रलाई सम्बोधन गर्दै पहाड र त्यसभन्दा बाहिर जलवायु परिवर्तनका धेरै प्रभावबारे प्रकाश पारेको प्रेस ब्रिफिङमा मन्त्री डा. राणाले बताइन् ।

जनवादी गणतन्त्र चीनको स्थायी समितिका उपाध्यक्ष जिओ जीले सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका गम्भीर प्रभावबारे जोड दिएका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि भिडियो सन्देशमार्फत सत्रलाई सम्बोधन गरेका थिए ।

कुल १९ प्रतिनिधिमण्डलहरू (१३ राष्ट्रिय र ६ क्षेत्रीय र अन्तरराष्ट्रिय संगठनहरूको तर्फबाट) ले जलवायु परिवर्तन, पहाड र मानव जातिको भविष्यका विविध पक्षहरूलाई प्रकाश पार्दै आफ्ना वक्तव्यहरू दिएका थिए ।

 

प्रकाशित : 16 May, 2025

प्रतिक्रिया दिनुहोस्