मलेसियामा अब फरक क्षेत्रमा पनि रोजगारदाता परिवर्तन गर्न पाइने, नेपालीलाई फाइदा

काठमाडौं । जेठ ७, मलेसिया सरकारले आप्रवासी श्रमिकलाई रोजगारीको विभिन्न क्षेत्रमा रोजगारदाता परिवर्तन गर्न अनुमति दिने निर्णय गरेको छ ।
यो नयाँ व्यवस्थाले मलेसियामा कार्यरत हजारौं नेपाली श्रमिकहरूलाई पनि लाभ पुग्ने विश्वास गरिएको छ।
मलेसियास्थित नेपाली दूतावासले जनाएअनुसार, मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुतियन इस्माइलले आप्रवासी श्रमिकको व्यवस्थापनसम्बन्धी १३औँ संयुक्त समितिको बैठकबाट यो निर्णय भएको जानकारी दिएका हुन् ।
यो निर्णयसँगै अब औपचारिक क्षेत्र (जस्तै उत्पादन, निर्माण, कृषि, बगान) र सेवा क्षेत्र (होटेल, पर्यटन आदि) मा कार्यरत आप्रवासी श्रमिकहरूले तोकिएका प्रक्रिया पूरा गरी आफ्नो रोजगारदाता परिवर्तन गर्न सक्नेछन्।
यसअघि, मलेसियामा आप्रवासी श्रमिकले एउटै प्रकृतिको कार्यक्षेत्रमा मात्र, त्यो पनि कम्पनी पुनर्संरचना हुँदा, बन्द भएमा, विस्तार भएमा वा श्रम विभागको निगरानीमा रहेको समितिले अनुमोदन गरेमा जस्ता विशेष अवस्थाहरूमा मात्र रोजगारदाता परिवर्तन गर्न पाउँथे।
नेपाली दूतावासले मलेसिया सरकारको यो पछिल्लो निर्णयलाई स्वागतयोग्य भनेको छ र यसले रोजगारदाता परिवर्तन गर्न इच्छुक श्रमिकहरूका लागि राम्रो अवसर सिर्जना गर्ने बताएको छ। साथै, यो निर्णय अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले गरेका विभिन्न सिफारिसहरूसँग पनि मेल खाने दूतावासको भनाइ छ।