बाढी पहिरोको कारण पत्ता लगाउन सरकारी टोली हुम्ला पुग्यो

काठमाडौं । जेठ ८, हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा बाढी पहिरोको कारण पत्ता लगाउन सरकारी टोली हुम्ला आइपुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशील कुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली आज बिहान हुम्ला सुदरमुकाम सिमिकोट आएको हो ।
टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहाद्र जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा छन् । टोली आजै प्रभावित क्षेत्रमा जाने हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।
जेठ १ गते राति एक्कासी बाढी आउँदा हुम्लाको नाम्खा गाउँपालिका ६ को तिल गाउँमा क्षति पुगेको थियो । १८ घर परिवार बिस्थापित भएर पाल मुनि बसिरहेका छन् ।
करिब ५ हजार ३०० मिटर माथि हिमालमा रहेका दुई वटा हिम पोखरीबाट बगेको पानीले बाढीको रुप धारण गरेको प्रारम्भिक अनुमान छ ।
स्थानीय आफैं पोखरीसम्म पुगेर बाढीको आउनुको कारण पत्ता लगाएका थिए । तर पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रुपमा स्पष्ट हुन सकेको छैन । त्यसैले काठमाडौंबाट आएको विज्ञहरुको टोलीले त्यसको वैज्ञानिक कारण पत्ता लगाउने अपेक्षा छ ।