एमाले धनुषाको अध्यक्षमा महासेठ निकट भोला यादव निर्वाचित, प्यानलै विजयी

धनुषा । जेठ ९, नेकपा एमाले धनुषा जिल्ला कमिटीको अध्यक्षमा पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठ निकट मानिने भोला यादव निर्वाचित भएका छन्। महासेठ समूहले प्रस्तुत गरेको सम्पूर्ण प्यानल नै विजयी भएको छ।
अध्यक्ष पदका लागि भएको निर्वाचनमा भोला यादवले ४०२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी, केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहका लक्ष्मीनारायण यादवले २०० मत मात्र प्राप्त गरे।
त्यसैगरी, उपाध्यक्षमा तेजनारायण यादव ४३० मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी जयप्रकाश सुनरैतले १६० मत पाए। सचिव पदमा दिपनारायण ठाकुर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी धिरेन्द्र मण्डलले २२५ मत ल्याए।
उपसचिव (पुरुष) तर्फ सबिन विक्रम थापाले ३८० मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी हरिकिशोर यादवले १९५ मत पाए। उपसचिव (महिला) तर्फ रुपाकुमारी मिश्रा ३९१ मतसहित विजयी भइन्, उनकी प्रतिस्पर्धी किरण कापरले १८४ मत प्राप्त गरिन्। लेखा समितिको अध्यक्षमा वीरेन्द्र लाल कर्ण ३६५ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी अनिल कुमार यादवले २०७ मत पाए।
पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयनका लागि भएको निर्वाचनमा कुल ६२८ मतदातामध्ये ६१५ जनाले मतदान गरेका थिए। सदस्यहरूको मतपरिणाम भने घोषणा हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।
यसअघि वैशाख २३ गते उम्मेदवारको विषयमा विवाद चर्किएपछि दुई समूहबीच झडप हुँदा मतदान स्थगित भएको थियो। बिहीबार कडा सुरक्षा व्यवस्थाबीच पुनः मतदान सम्पन्न गराइएको हो।