देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । जेठ ९, देशका विभिन्न प्रदेशमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ। यस कारणले गर्दा अधिकांश प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। कतिपय स्थानमा मेघगर्जन, चट्याङ र हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने एक-दुई स्थानमा हल्का वर्षा तथा हल्का हिमपातको सम्भावना छ। पहाडी तथा तराईका विभिन्न स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्छ।

मधेश प्रदेशका तराई क्षेत्रमा दिनभरि आंशिकदेखि साधारणतया बदली रहनेछ र केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। राति पनि यस्तै अवस्था रहनेछ।

बागमती प्रदेशमा हिमाली क्षेत्रमा बदली रहनुका साथै एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। पहाडी तथा तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने छ।

गण्डकी प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र एक-दुई स्थानमा हल्का वर्षा तथा हल्का हिमपातको सम्भावना छ। पहाडी र तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

लुम्बिनी प्रदेशका हिमाली, पहाडी तथा तराईका क्षेत्रमा दिनभरि आंशिकदेखि साधारणतया बदली रहने र थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनसक्ने देखिन्छ। राति हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कर्णाली प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ र एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा पनि मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्छ।

सुदूरपश्चिम प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने छ भने तराईमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने देखिन्छ।

मौसम विभागले उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा वा हिमपात हुनसक्ने, साथै मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित : 23 May, 2025

प्रतिक्रिया दिनुहोस्