रवि लामिछानेको मुद्दामा आजै आदेश आउला ?

सहयात्रा टिभी

काठमाडौं । जेठ ९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज शुक्रबार पनि सुनुवाइ हुँदैछ। बिहीबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको उक्त निवेदनमाथि आज पुनः सुनुवाइ हुन लागेको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुरु भएको यो सुनुवाइ बुधबार संवैधानिक इजलासका कारण स्थगित भई बिहीबार निरन्तरता पाएको थियो।

बिहीबारसम्म लामिछानेका तर्फबाट १० जना कानुन व्यवसायीले बहस गरिसकेका छन्, जसमा अन्तिममा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरेका थिए। त्यसपछि सरकारी वकिलका तर्फबाट पनि चारजनाले आफ्नो बहस सकेका छन्।

अब रिट निवेदक (जाहेरवाला) का तर्फबाट वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीसहित तीन जनाले बहस गर्ने तयारी छ। जाहेरवालाको बहस सकिएपछि लामिछानेका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्।

लामिछानेका कानुन व्यवसायी डा. नारायण कँडेलले आज चिया समयअगावै सम्पूर्ण बहस सकिने र आदेश पनि चाँडै आउने अपेक्षा गरिएको जानकारी दिएका छन्।

प्रकाशित : 23 May, 2025

प्रतिक्रिया दिनुहोस्