हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक, आर्थिक अनुदान पनि कटौती

काठमाडौं । जेठ ९, संयुक्त राज्य अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना प्रक्रियामा गम्भीर धक्का दिँदै प्रतिबन्ध लगाएको छ।
यस सम्बन्धमा विश्वविद्यालयलाई पठाइएको औपचारिक पत्रमा स्टुडेन्ट एक्सचेन्ज भिजिटर प्रोग्राम स्थगन गर्न निर्देशन दिइएको हो। उक्त कार्यक्रम होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनले निगरानी गर्दै आएको थियो।
सरकारी पत्रअनुसार अब हार्वर्ड विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना गर्न सक्ने छैन। साथै, एक विश्वविद्यालयबाट अर्कोमा स्थानान्तरण हुने विद्यार्थीको हकमा उनीहरू आप्रवासी नभएको प्रमाणित गर्नुपर्नेछ। यसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शिक्षामा गम्भीर असर पार्ने देखिएको छ।
हार्वर्ड विश्वविद्यालयले यस विषयमा विज्ञप्ति जारी गर्दै ट्रम्प प्रशासनको निर्णयलाई अन्यायपूर्ण र प्रतिरोधात्मक भनेको छ। विश्वविद्यालयको भनाइमा, यस्तो निर्णयले शैक्षिक स्वतन्त्रता, विविधता तथा अन्तर्राष्ट्रिय सहकार्यलाई कमजोर बनाउने खतरा छ।
यसबाहेक, हार्वर्डले हालैका तीन चरणमा गरेर सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानसमेत सरकारद्वारा रोकिएको जनाएको छ। यिनै कारणले विश्वविद्यालयको आर्थिक अवस्था कमजोर बन्दै गएको छ। यसै सन्दर्भमा, हार्वर्डका उपाध्यक्ष एलन गार्वरले हालै आर्थिक संकटको सामना गरिरहेको जनाउँदै पूर्व विद्यार्थी तथा शुभेच्छुकहरूलाई सहयोगका लागि अपिल गरेका छन्।
यता, होमल्याड सेक्युरिटी डिपार्टमेन्टकी सेक्रेटरी क्रिस्टी नोयमले सामाजिक सञ्जालमा हार्वर्ड विश्वविद्यालयको पारदर्शितामाथि प्रश्न उठाउँदै शंका व्यक्त गरेकी छन्। उनले विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक गतिविधिमा पारदर्शिता नभएको आरोपसमेत सार्वजनिक रूपमै लगाएकी छन्।
ट्रम्प प्रशासनको यो कदमले अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थी र सम्बन्धित शैक्षिक क्षेत्रलाई ठूलो चुनौती थप्ने देखिएको छ। हार्वर्डलगायत अन्य विश्वविद्यालयहरूले उक्त निर्णयको विरोध जनाएका छन् र विद्यार्थीको अधिकारका पक्षमा आवाज उठाउन थालेका छन्।