आज हुम्लालाई साक्षर जिल्ला घोषणा

काठमाडौं । जेठ ९, हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘साक्षरता हाम्रो गौरव, साक्षर जिल्ला हाम्रो उपब्धि’ नाराका साथ आज हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
हुम्लामा १५ देखि ६० वर्ष उमेर समूहका नागरिकहरूको साक्षरता दर ९७ दशमलव ४ प्रतिशत मापदण्ड पूरा भएपछि हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाका कार्यालय प्रमुख योगेश आलेमगरले जानकारी दिए ।
यससँगै हुम्ला नेपालको ६७ औं र कर्णाली प्रदेशको ८ औं साक्षर जिल्ला बनेको छ ।
१५–६० वर्ष उमेर समूहका ३५ हजार ३५४ जनामध्ये ३३ हजार ९५४ जना साक्षर भएको आलेमगरको भनाइ छ । हुम्लामा १४ सय नागरिक निरक्षर रहेका छन् ।
ताजाकोट गाउँपालिकामा ६६ जना, अदानचुलीमा १९२ जना, चंखेलीमा १९२ जना, सर्केगाडमा ३१४ जना, खार्पुनाथमा १९४ जना, सदरमुकाम सिमकोट ३७१ जना र नाम्खा गाउँपालिकामा १११ जना गरि १ हजार ४४० जना अझै निरक्षर रहेको शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाको तथ्यांक छ ।
कर्णाली प्रदेशका कालिकोट र डोल्पा जिल्लालाई मात्र साक्षर घोषणा गर्न बाँकी छ ।