कांग्रेसद्धारा भूमि विधेयकका केही बुँदालाई संशोधन गर्ने

काठमाडौं । जेठ ९, नेपाली कांग्रेसले जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले प्रचलित कानुन बमोजिम जग्गा खरिद गर्नसक्ने तर बिक्री वितरण गर्न नसक्ने व्यवस्थालाई संशोधन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । भूमि सम्बन्धी ऐनको आठौँ संशोधनमा देखिएका कानुनी अप्ठ्याराहरू समाधान र केही विषयहरू थप गर्ने विषयमा समेत छलफल भएको बताए ।
उनका अनुसार, सरकारले अव्यवस्थित बसोवास, भूमिहीन सुकुमवासी तथा दलित सुकुमवासीको समस्या समाधान गर्नेगरी ऐन ल्याउने विषयमा समेत छलफल भएको छ ।
२०६६ सालभन्दा अगाडि खाली जग्गामा बसोवास गरिरहेका सुकुमवासीहरूलाई लालपूर्जा वितरण गर्ने प्रस्तावसहित विधेयक तयार पारिएको उल्लेख गर्दै केही बुँदाहरूमा संशोधन गरेर अघि बढ्ने निर्णय भएको घिमिरेले जानकारी दिए ।
प्रश्तावित विधेयकमा भूमि सम्बन्धी ऐन, २०२१ का विभिन्न दफा संशोधनको प्रस्ताव गरिएको छ । प्रचलित ऐनको दफा १२ मा संशोधन गरेर हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव गरिएको हो ।