आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जेठ ११, हाल नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ । यसका साथै, बङ्गालको खाडी तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि आंशिक असर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहने अनुमान छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने आँकलन गरिएको छ ।
सातै प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने देखिएको छ । तसर्थ, महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।