रास्वपा केन्द्रीय समितिको बैठक आज, चार मुख्य एजेण्डामा छलफल हुने

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (सोमबार) दिउँसो २ बजे बस्दैछ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा आयोजना हुनेछ।

यो बैठक आइतबार अपराह्न ४ बजे बसेको पार्टीको आकस्मिक भर्चुअल बैठकको निरन्तरता भएको उनले बताए। आजको बैठकमा मुख्यतः चारवटा विषयमा छलफल केन्द्रित हुने प्रवक्ता झाले जानकारी दिए।

छलफलका एजेण्डाहरूमा पार्टी सभापति रवि लामिछानेविरुद्ध लगाइएको भनिएको “प्रतिशोधपूर्ण झुठा मुद्दा” को आगामी कानुनी तथा राजनीतिक प्रक्रिया, भिजिट भिसा प्रकरण र त्यसमा गृहमन्त्रीको सम्भावित संलग्नताको विषय रहेका छन्। यसैगरी, पार्टीको आगामी कार्यदिशा, महाधिवेशन लक्षित कार्यक्रमको तालिका, र असार ७ गते पर्ने पार्टीको तेस्रो स्थापना दिवसको कार्यक्रमबारे पनि विस्तृत छलफल हुनेछ।

साथै, यी मुख्य विषयहरूका अतिरिक्त समसामयिक तथा विविध अन्य विषयमा पनि छलफल हुने कार्यसूची रहेको झाले उल्लेख गरे।

प्रकाशित : 25 May, 2025

प्रतिक्रिया दिनुहोस्