कर्मचारीको गल्तीमा गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : कृष्ण सिटौला

काठमाडौं । जेठ ११, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै कार्यालयको एक कर्मचारीले गरेको गल्तीको आधारमा कार्यालय प्रमुखको राजीनामा माग गर्नु उचित नहुने बताएका छन् । गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेको सन्दर्भमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै नेता सिटौलाले भने, “कुनै पनि अड्डा, कार्यालयको कुनै कर्मचारीले गल्ती गर्छ भने ऊ जिम्मेवार हुन्छ, जवाफदेही हुन्छ। त्यस्तो अवस्थामा कार्यालयकै प्रमुखले राजीनामा दिनुपर्छ, छोड्नुपर्छ भन्ने कुरा उठायौं भने राज्य व्यवस्था यसरी चल्दैन।”
भिजिट भिसामा मानव तस्करीमा संलग्न भएको आरोपमा सहसचिव भट्टराई पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकको सचिवालय नै यस कार्यमा संलग्न रहेको भन्दै समाचारहरू प्रकाशित भएका छन्। यही विषयलाई लिएर गृहमन्त्री लेखकको राजीनामा माग भइरहेको समयमा नेता सिटौलाले उनको बचाउ गरेका हुन् ।
यसअघि शनिबार विराटनगरमै कांग्रेस नेता डा. शेखर कोइरालाले भने गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका थिए । तर, नेता सिटौलाले विगतमा मन्त्रीहरूमाथि नै प्रत्यक्ष आरोप लाग्दा राजीनामा दिएको भए पनि अहिलेको प्रकरण गृहमन्त्रालयका एक कर्मचारीमाथि लागेको आरोप मात्र भएको तर्क गरे ।