महायज्ञमा दुई समूहबीच झडप, कटुवा पेस्तोलसहित दुई जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११, जितवापुरमा सञ्चालित महायज्ञमा शनिबार राति दुई समूहबीच झडप हुँदा एकजना घाइते भएका छन्। प्रहरीका अनुसार, महायज्ञमा आएका युवाहरूको एक समूहले युवतीलाई जिस्काएपछि सुरु भएको विवादले उग्र रूप लिँदा कुटपिट भएको हो।

स्थानीयका अनुसार, महायज्ञमा सहभागी जितवापुरका स्थानीय युवा र वडा नं. ५ मोहसड गाउँबाट आएका युवाहरूबीच विवाद चर्किएर झडप भएको थियो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले जेठ २ गतेदेखि सुरु भएको महायज्ञमा पछिल्ला दिनहरूमा मोहसडबाट आउने केही युवाले रात्रिकालीन समयमा विवाद गर्दै आएको जानकारी दिए।

शनिबार राति करिब १२ बजेतिर सोही समूह महायज्ञस्थलमा आएर पुनः विवाद गर्न थालेपछि दुई पक्षबीच कुटपिट भएको थियो। घटनामा स्थानीय विक्रम सिंह घाइते भएका छन्। उनी लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बानियाँका स्वकीय सचिव हुन्। उनको हात र खुट्टामा चोट लागेको र हाल भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोहसडका २७ वर्षीय कमरउद्दिन मुसलमान र २६ वर्षीय रोशन अली फकिर रहेका छन्। प्रहरी उपरीक्षक क्षेत्रीले पक्राउ परेकाहरूको साथबाट गोली नभएको एक थान कटुवा पेस्तोलसमेत बरामद भएको जानकारी दिए। हाल उनीहरू इलाका प्रहरी कार्यालय लुम्बिनीको हिरासतमा रहेका छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लुम्बिनीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक मगरातीका अनुसार, महायज्ञमा गएका युवाहरूले युवतीलाई जिस्काएपछि विवाद सुरु भएको हो। उनले हाल अवस्था सामान्य रहेको र स्थानीयले दोषीलाई छानबिन गरी कारबाही गर्न माग गरेको बताए ।

प्रकाशित : 25 May, 2025

प्रतिक्रिया दिनुहोस्