अध्ययनका क्रममा हुम्लामा थप एउटा हिमताल भेटियो

काठमाडौं । जेठ १२, हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ तिलगाउँमा आएको बाढी पहिरोको अध्ययनका क्रममा थप एउटा हिमताल भेटिएको छ ।
बाढी पहिरोको कारण पत्ता लगाउन ५ हजार ३ सय ५० मिटर उचाइमा पुगेको सरकारी अध्ययन टोलीले ३ वटा हिमताल भेटेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार त्यहाँ पहिले २ वटा हिमताल रहेकामा अहिले एउटा थपिएको पाइएको हो । प्राधिकरणले सामाजिक सञ्जालमा लेख्दै हिमताल थपिएको बारेमा जानकारी गराएको हो ।
प्राधिकरणका अनुसार अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिस्ट शिवकुमार बाँस्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहाद्र जोशी रहनुभएको छ ।
यही जेठ १ गते रातिको बाढी र सुक्खा पहिरोका कारण नाम्खा गाउँपालिका वडा नम्बर ६ तिलगाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए । यस्तै बाढी पहिरोबाट लघु जलविद्युत् तथा खानेपानी आयोजना, सिँचाइ, काठेपुल, ४ सय रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको थियो ।
यसअघि हिमताल भएको क्षेत्रमा पुगेको वडाध्यक्षसहित स्थानीयवासीको टोलीले हिमताल फुटेको आशङ्का गरेको थियो । तर यसबारेमा विज्ञको टोलीले थप अध्ययन गरेर यकिन गर्ने प्राधिकरणले जनाएको छ ।