गृहमन्त्रीको राजीनामा माग्दै अखिल क्रान्तिकारी लगायतद्धारा प्रदर्शन

काठमाडौं । जेठ १३, भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अखिल क्रान्तिकारी विद्यार्थी संगठनलगायतले प्रदर्शन गरेका छन् ।
मंगलबार माइतीघरमण्डलमा अखिल क्रान्तिकारी, अखिल समाजवादी, अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग र युवा संगठनले संयुक्त रुपमा प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।
उनीहरूले नालायक गृहमन्त्री राजीनामा दे, भ्रष्ट गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, भिजिट भिसा काण्डको निष्पक्ष छानबिन गरलगायतका नारा लगाएका थिए ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।
उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले आजको बैठक चल्न दिएनन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रालय सहसचिव तीर्थराज भट्टराई पक्राउ परिसकेका छन् ।