बुटवलमा पूर्वपत्नी र दुई छोरीको विभत्स हत्या, पूर्वपति पक्राउ

काठमाडौं । जेठ १४, रुपन्देहीको बुटवल उपमहानगरपालिकामा एक व्यक्तिले आफ्नी पूर्वपत्नी र दुई छोरीको विभत्स हत्या गरेका छन् । बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ वर्षीया तथा ७ वर्षीया दुई छोरीको हत्या भएको हो ।
प्रहरीका अनुसार, दीपाका पूर्वपति सुजन कोइरालाले उनीहरुको हत्या गरेका हुन् । सम्बन्धविच्छेदपछि अर्कैसँग विवाह गरेकी दीपालाई सुजनले बुधबार बिहान करिब ४ बजेतिर आफ्नै घरमा बोलाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुको हत्या घरेलु हतियार (ह्यामर र चक्कु) प्रहार गरी गरिएको प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरीले हत्याका अभियुक्त सुजन कोइरालालाई नियन्त्रणमा लिइसकेको छ । प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार कोइरालाले यसअघि आफ्नै दाजुको हत्या गरेको आरोपमा जेल सजाय भोगिसकेका थिए । उनी केही वर्षअघि संविधान दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।