आज गणतन्त्र दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना गरी मनाइँदै

सहयात्रा टिभी

काठमाडौं । जेठ १५, आज जेठ १५ गते, नेपालले निरङ्कुश राजतन्त्रलाई अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा गणतन्त्र दिवस मनाइँदैछ। वि.सं. २०६५ सालमा जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको जग बसाल्यो। यो उपलब्धि सात राजनीतिक दलले आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गरेको सशस्त्र सङ्घर्षको संयुक्त प्रतिफल हो।

फाइल तस्वीर

गणतन्त्र स्थापनासँगै नेपाली जनताले स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र र नागरिक सर्वोच्चता प्राप्त गरेका छन्। यो वंशजमा आधारित शासन प्रणालीलाई जनताले परास्त गरेको उत्सव हो, जहाँ जनताको अधिकार र शासनमा सहभागिताको सुनिश्चितता गरिएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रले देशको समुन्नत भविष्यका लागि जनतालाई राजनीतिक अधिकारको पूर्ण प्रत्याभूति दिएको छ।

यद्यपि, गणतन्त्रको मूल कार्यभार अझै पूरा हुन सकेको छैन। नागरिकका आधारभूत समस्याहरू जस्तै शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूति र गरिबीको अन्त्य गर्नु गणतन्त्रको प्राथमिक दायित्व हो। साथै, विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठा उँचो बनाउनु पनि लोकतान्त्रिक गणतन्त्रको प्रमुख कार्यभार हो।

गणतान्त्रिक संविधानको मूल भावना जनअपेक्षा र जनभावनाअनुरुप चल्नु हो। यसका लागि आमनागरिकको अधिकारप्रति अटुट आस्था राख्दै यस दिवसलाई लोकतन्त्रको पोषकका रूपमा स्थापित गर्न आवश्यक छ। लोकतान्त्रिक गणतन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले यसलाई उदारवादी आदर्शको उपजका रूपमा हेरिनुपर्छ।

विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम मानिन्छ। यसले जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रको रूपमा काम गर्न सक्छ। यसका लागि उत्पादन वृद्धि, अवसरको न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन र सुशासन कायम गर्नु अपरिहार्य छ।

आजको पुस्ताले बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्दै आउने पुस्तालाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम लोकतान्त्रिक संस्कृति हस्तान्तरण गर्ने सङ्कल्प लिनुपर्छ। जनादेश, मतादेश र संविधानप्रदत्त व्यवस्थाअनुरुप एकढिक्का भई अगाडि बढ्न सके मात्र नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल र सुदृढ हुन सक्नेछ।

गणतन्त्र दिवसको यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट महानुभावको उपस्थिति रहनेछ। यस अवसरमा गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरिनेछ।

मुलुकमा सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चित गर्न तथा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षमा धेरै नेपालीले जेलनेल र यातना सहेका थिए। अब लोकतान्त्रिक संस्कृतिको वातावरणमा नागरिकलाई समुन्नत र अधिकारसम्पन्न तुल्याउँदै खुसी दिलाउने अभियानमा जुट्न आजको दिनले थप प्रतिबद्धता जनाउने विश्वास विभिन्न पार्टीका नेताहरूले व्यक्त गरेका छन्।

समग्रमा, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्दछ। समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत गर्ने जागरण पैदा गराउनु अहिलेको आवश्यकता हो।

प्रकाशित : 29 May, 2025

प्रतिक्रिया दिनुहोस्