पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नीशोक

काठमाडौं । जेठ १५, पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता लालबाबु पण्डितलाई पत्नीशोक परेको छ। उनकी धर्मपत्नी विमला महत पण्डितको शनिबार राति निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार, ६० वर्षीया विमला महतको स्वास्थ्यमा केही समयदेखि समस्या देखिएको थियो र उनको उपचार चलिरहेको थियो। उपचारकै क्रममा उनको गए राति १२:४५ बजे निधन भएको हो। यो दुःखद खबर स्वयं पूर्वमन्त्री पण्डितले आइतबार बिहान आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन्।
आफ्नो फेसबुक स्टाटसमा पूर्वमन्त्री पण्डितले लेखेका छन्, “हार्दिक श्रद्धाञ्जली ! मेरो धर्मपत्नी विमला महत (पण्डित) को मिति २०८१/०२/१९ गते राति १२:४५ बजे स्वर्गारोहण भएको छ। यो दुःखद खबर सबैमा जानकारी गराउँदछु।”
विमला महत पण्डितको निधनको खबर सार्वजनिक भएलगत्तै विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शुभचिन्तक तथा सर्वसाधारणले सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री पण्डित र उनको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गरिरहेका छन्। महतको निधनले पण्डित परिवारमा गहिरो शोक छाएको छ।