विश्वव्यापी तापमान वृद्धिमा चिन्ताजनक प्रक्षेपण, आगामी पाँच वर्षसम्म रेकर्ड ब्रेक गर्मी

काठमाडौं । जेठ १५, विश्व मौसम संगठन (डब्ल्यूएमओ) ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले आगामी पाँच वर्षसम्म विश्वको औसत तापक्रममा चिन्ताजनक वृद्धिको प्रक्षेपण गरेको छ।
प्रतिवेदनअनुसार, सन् २०२५ देखि २०२९ सम्मको अवधिमा विश्वको औसत तापक्रम पूर्व-औद्योगिक (सन् १८५०-१९००) अवधिको औसत तापक्रमको तुलनामा १.९ डिग्री सेल्सियससम्म बढ्न सक्ने अनुमान गरिएको छ। यो वृद्धि जलवायु परिवर्तनको भयावह अवस्थालाई दर्शाउँछ र यसका दूरगामी परिणामहरू विश्वभर देखिनेछन्।
आगामी पाँच वर्षको तापक्रम प्रक्षेपण:
डब्ल्यूएमओको बुधबार सार्वजनिक भएको प्रतिवेदनले सन् २०२४ लाई हालसम्मकै सबैभन्दा तातो वर्षका रूपमा रेकर्ड गरिएको भए पनि सन् २०२५ देखि २०२९ सम्मको अवधिमा यसलाई पनि पार गर्ने सम्भावना ८० प्रतिशत रहेको औँल्याएको छ। यो प्रक्षेपणले आगामी वर्षहरूमा तापक्रम वृद्धि निरन्तर रहने संकेत गर्दछ।
प्रतिवेदनले अझै चिन्ताजनक तथ्याङ्कहरू प्रस्तुत गरेको छ । कम्तीमा एक वर्षमा औसत तापमान पूर्व-औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ८६ प्रतिशत छ।
पाँच वर्षको औसत तापमान १.५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ७० प्रतिशत छ। यो गत वर्षको प्रतिवेदन (सन् २०२४–२०२८ को लागि ४७ प्रतिशत) को तुलनामा २६ प्रतिशतले बढी हो। सन् २०२३ को प्रतिवेदन (सन् २०२३–२०२७) मा यो सम्भावना मात्र ३२ प्रतिशत थियो।
यी तथ्याङ्कहरूले हरेक वर्ष विश्वको औसत तापक्रम बढ्दै गएको स्पष्ट देखाउँछ। वैज्ञानिकहरूका अनुसार, तापमानमा प्रत्येक वर्ष थोरै–थोरै वृद्धि हुनु पनि निकै हानिकारक हुन्छ। यसले तातो लहर, अत्यधिक वर्षा, गम्भीर खडेरी, हिमगलन र समुद्री सतह वृद्धि जस्ता चरम मौसमी घटनाहरूलाई अझ तीव्र बनाउँछ।
आर्कटिक क्षेत्रमा विशेष चिन्ता:
प्रतिवेदनले आर्कटिक क्षेत्रको तापमान वृद्धि विश्वको औसतभन्दा ३.५ गुणा बढी हुने अनुमान गरेको छ। यो सन् १९९१–२०२० को औसतभन्दा २.४ डिग्री सेल्सियसले बढी हो। आर्कटिकमा आगामी पाँच वर्षको अवधिमा गर्मीका कयौं रेकर्ड तोडिन सक्ने चेतावनी डब्ल्यूएमओले दिएको छ। आर्कटिकको तीव्र तापमान वृद्धिले समुद्री बरफ पग्लन र समुद्री सतह बढाउनमा प्रत्यक्ष भूमिका खेल्नेछ, जसले विश्वभरका तटीय क्षेत्रहरूमा ठूलो असर पार्नेछ।
मार्च २०२५ देखि २०२९ सम्म समुद्री बरफको स्तर अझै घट्ने सम्भावना पनि औंल्याइएको छ। यस्तो खासगरी बारेन्ट्स सागर, बेरिङ सागर र ओखोत्स्क सागरमा हुने सम्भावना छ।
विश्वव्यापी मौसमी प्रभाव:
डब्ल्यूएमओको प्रतिवेदनअनुसार, यी मौसमी घटनाहरूले विश्वका विभिन्न भागमा फरक-फरक असर पार्नेछन् । अमेजन क्षेत्रमा थप खडेरी: बढ्दो तापक्रमले अमेजन वर्षावनमा खडेरीको जोखिम बढाउनेछ, जसले जैविक विविधता र विश्वव्यापी कार्बन चक्रमा नकारात्मक प्रभाव पार्नेछ।
दक्षिण एसिया र उत्तरी युरोपमा वर्षा वृद्धि: सन् २०२५–२०२९ को अवधिमा मेदेखि सेप्टेम्बर महिनामा औसतभन्दा बढी वर्षा हुनो सम्भावना छ। साहेल, उत्तरी युरोप, अलास्का र उत्तर साइबेरियामा पनि औसतभन्दा बढी वर्षाको सम्भावना औंल्याइएको छ।
नेपाल र दक्षिण एसियामा असर: दक्षिण एसियाली देशमा सन् २०२३ यताका वर्षहरुमा औसतभन्दा अधिक वर्षा हुँदै आएको छ। यस्तो सम्भावना सन् २०२५–२०२९ को अवधिको बीचमा पनि रहने डब्ल्यूएमओले जनाएको छ।
नेपालमा कस्तो प्रभाव?
डब्ल्यूएमओको ताजा रिपोर्टमा नेपाललाई विशेष रूपमा उल्लेख नगरिएको भए पनि दक्षिण एसियाका लागि गरिएका पूर्वानुमानहरू नेपालका लागि पनि उत्तिकै सान्दर्भिक छन्। नेपाल जस्ता हिमाली देशहरूमा तापमान वृद्धिले गम्भीर परिणाम ल्याउन सक्छ ।
हिमनदी पग्लिने र विपत्ति: तापमान वृद्धिले हिमनदीहरू तीव्र गतिमा पग्लिनेछन्, जसले हिमताल विष्फोट र बाढी-पहिरोको जोखिम बढाउनेछ। इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) को एक रिपोर्ट अनुसार, यदि विश्व तापक्रम बढिरह्यो भने नेपाल र भुटानले हिमालय क्षेत्रमा जमेको बरफको ७५ देखि ८० प्रतिशतसम्म गुमाउने खतरा छ।
जलस्रोतमा अस्थिरता: हिमनदी पग्लिँदा नदीहरूमा सुरुमा पानीको प्रवाह बढ्ने भए पनि दीर्घकालमा स्रोत सुक्दै जाने खतरा रहन्छ। यसले नेपालका नदीहरूमा पानीको प्रवाह, जलविद्युत् उत्पादन र सिँचाइ प्रणालीमा दीर्घकालीन असर पार्न सक्छ।
कृषि र खाद्य सुरक्षामा चुनौती: अत्यधिक वर्षा (कतिपय क्षेत्रमा) र उच्च तापक्रमले कृषि उत्पादनमा नकारात्मक असर पुर्याएर खाद्य सुरक्षामा चुनौती सिर्जना गर्न सक्छ। बालीनालीमा रोग-कीराको प्रकोप बढ्ने र उत्पादन घट्ने सम्भावना रहन्छ।
जैविक विविधतामा नकारात्मक प्रभाव: जलवायु परिवर्तनले विभिन्न प्रजातिहरूको वासस्थानमा असर पार्नेछ, जसले जैविक विविधतामा नकारात्मक प्रभाव पार्न सक्छ।
असरको असमान वितरण र सामाजिक चुनौती:
बढ्दो गर्मीको असर सबैलाई समान रूपमा पर्दैन। प्रतिवेदनले शीतलमा बस्ने सुविधाबाट वञ्चित गरिब, मजदुर, विस्थापित तथा गर्भवती, बालबालिका, वृद्धवृद्धा, विकलाङ्ग व्यक्तिहरू बढी प्रभावित हुने औंल्याएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को एक रिपोर्टअनुसार, विश्वभर शारीरिक श्रम गर्न सक्ने करिब ७० प्रतिशत व्यक्ति अत्यधिक गर्मीको चपेटामा परेका छन्। अफ्रिका र अरब क्षेत्रमा यो स्थिति अझै संकटपूर्ण छ, जहाँ क्रमशः ९० र ८० प्रतिशत जनसंख्याले अत्यधिक गर्मीको सामना गरिरहेका छन्। एसिया र प्रशान्त क्षेत्रमा यो संख्या करिब ७५ प्रतिशत छ, जुन क्षेत्र विश्वकै सबैभन्दा धेरै जनघनत्व भएको क्षेत्र हो।
यसको आर्थिक प्रभाव पनि भयावह छ। बढ्दो गर्मीबाट विश्व अर्थतन्त्रमा सन् २०३० सम्म २.४ ट्रिलियन डलर नोक्सान हुने अनुमान गरिएको छ। यसले विश्वव्यापी गरिबी र असमानतालाई थप बढावा दिन सक्छ।
सन् २०२५: एक निर्णायक वर्ष
सन् २०२५ लाई विश्वको जलवायु कार्यका लागि एक महत्वपूर्ण वर्ष मानिएको छ। यस वर्ष जलवायु अनुकूलन योजनामा व्यापक सुधारको आवश्यकता छ ताकि पेरिस सम्झौताको लक्ष्य प्राप्त गर्न सकियोस्। पेरिस सम्झौतामा देशहरूले विश्वको औसत तापक्रमलाई औद्योगिक कालभन्दा पहिलेको स्तरबाट दुई डिग्री सेल्सियसभन्दा तल राख्ने र सम्भव भए १.५ डिग्री सेल्सियसको लक्ष्यमा सीमित गर्ने कोसिस गर्ने उल्लेख छ।
डब्ल्यूएमओले अझै पनि जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सकिने जनाएको छ। त्यसका लागि जीवाश्म इन्धनको प्रयोगमा कटौती, नवीकरणीय ऊर्जा प्रवर्धन र जलवायु अनुकूलन कार्यक्रममा लगानीमा जोड दिनुपर्नेछ। नेपाल जस्ता संवेदनशील देशहरूले जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै दीर्घकालीन योजना, पूर्वतयारी र अनुकूलन रणनीतिहरू निर्माण गरी कार्यान्वयनमा ल्याउनु अपरिहार्य छ। यसका साथै, श्रम गरेर परिवार पाल्ने वर्गको सुरक्षामा बढी जोड दिनुपर्ने वैज्ञानिकहरूको सुझावलाई पनि मनन गर्नु आवश्यक छ।