उपत्यकाको सुरक्षा व्यवस्था कडा: ३८ सय प्रहरी परिचालन, राजावादीमाथि विशेष निगरानी

काठमाडौं । जेठ १५, काठमाडौं उपत्यकामा आजको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ३८ सय प्रहरी जनशक्ति परिचालित गरिएको छ।
गणतन्त्र दिवसका अवसरमा मूल समारोह समितिको कार्यक्रमका लागि राष्ट्रपति रामचन्द्र पौडेल टुँडिखेलस्थित सैनिक मञ्चमा पुगेपछि तोकिएको प्रहरी जनशक्ति निर्धारित स्थानमा तैनाथ भइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। प्रहरी जनशक्ति अपुग भएपछि मकवानपुरको विशेष सुरक्षा गण रातोमाटेबाट इन्स्पेक्टरको कमान्डमा थप टोली काठमाडौंमा ल्याइएको छ।
त्यसैगरी उपत्यकामा रहेका १ नम्बर, २ नम्बर, दंगा तथा पहरा गण, विभिन्न गुल्म र हेडक्वार्टरसहितका टोलीहरू सडकमा खटिएका छन्। प्रहरी स्रोतका अनुसार, कूल ३८ सय प्रहरी आज सुरक्षा व्यवस्थामा संलग्न छन्।
राजावादी समर्थक प्रदर्शनकारीको गतिविधि उच्च निगरानीमा राखिएको छ। ललितपुर र भक्तपुर जिल्लाका प्रहरी युनिटलाई प्रदर्शनकारी व्यवस्थापनको जिम्मेवारी दिइएको छ। राजावादी समर्थक प्रदर्शनकारीलाई दिउँसो २ बजेसम्म जहाँको त्यहीँ रोक्न तथा त्यसपछि मात्र शान्तिबाटीका प्रवेश गर्न दिन प्रहरीको योजना रहेको छ। निषेधित क्षेत्रमा प्रदर्शन गर्न पाइने छैन भने गौशालादेखि सिनामंगल, तीनकुनेसम्म भिड जम्मा हुन नदिने नीति छ।
ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, लुभु, लामाटारबाट राप्रपा कार्यकर्ता भक्तपुर हुँदै कोटेश्वरमा जम्मा हुने तयारीमा छन् भने दक्षिणी ललितपुरबाट चापागाउँ हुँदै जावलाखेलमा जम्मा हुने जानकारी आएको छ। भक्तपुरबाट आउने समूहलाई २ बजेसम्म मनोहरा पुलमै रोक्ने व्यवस्था छ।
यसैगरी एमाले समर्थक प्रदर्शनकारी बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वर क्षेत्रमा जम्मा भइरहेका छन्, जसलाई पनि निषेधित क्षेत्रमा प्रवेश नदिन प्रहरी तैनाथ गरिएको छ।
राजावादी समर्थक प्रदर्शनकारीलाई २ बजेसम्म चक्रपथ बाहिर राख्ने, यदि भित्र जम्मा भएमा जहाँको त्यहीँ रोक्ने गरी प्रहरी परिचालन गरिएको छ।
प्रहरीले वाटर क्यानन, अश्रु ग्यास, गोलीगठ्ठा लगायतका उपकरण तयारी अवस्थामा राखेको छ। सम्पूर्ण प्रहरी परिचालनको नेतृत्व काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले लिएका छन्।
विमानस्थलमा समेत सुरक्षा कडा पारिएको छ। चैत १५ मा राजावादी समूहको अराजकतापूर्ण प्रदर्शनपछि देखिएको सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आज नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी संयुक्त रूपमा विमानस्थलमा परिचालित छन्। विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, विमानस्थलको मूलद्वार, आयल निगम डिपो र कोटेश्वरस्थित अवतरण विन्दु उच्च सतर्कतामा राखिएको छ।