काठमाडौंमा बिहानैदेखि सवारी आवागमन असहज, दिउँसो यी क्षेत्रमा हुन सक्छ जाम

काठमाडौं । जेठ १५, गणतन्त्र दिवसका अवसरमा काठमाडौंमा आयोजित विभिन्न कार्यक्रम र राजनीतिक प्रदर्शनका कारण बिहीबार बिहानैदेखि सवारी आवागमन असहज बनेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले सडकमा हुने विविध कार्यक्रमका कारण ट्राफिक व्यवस्थापनमा चुनौती आएको बताएका छन्।
गिरीका अनुसार, बिहान सैनिक मञ्च, टुँडिखेलमा गणतन्त्र दिवस मनाइएकाले राष्ट्रपति कार्यालयदेखि टुँडिखेलसम्म केहीबेर एकतर्फी मात्र सडक सञ्चालन गरिएको थियो। आज दिउँसो नेकपा एमाले र राजावादीहरूको समेत छुट्टाछुट्टै कार्यक्रम रहेकाले ट्राफिक व्यवस्थापन थप जटिल बनेको छ। “को कताबाट निस्किने केही सूचना छैन। आवश्यकताअनुसार, सवारी डाइभर्सन हुनसक्छ,” गिरीले भने।
प्रदर्शनका लागि समय निर्धारण र सुरक्षा व्यवस्था कडा
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार, नेकपा एमालेलाई दिउँसो २ बजेसम्म र त्यसपछि राजावादीहरूलाई प्रदर्शनका लागि समय दिइएको छ। दुवै समूहको प्रदर्शन काठमाडौंको शान्तिवाटिका, भृकुटीमण्डप, सहिदगेट र रत्नपार्ककेन्द्रित हुने बताइएको छ। सो क्षेत्रमा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ। सवारी चालक तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र ट्राफिक जामबाट बच्न धैर्य गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।