दाउन्ने सडक भासिँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

सहयात्रा टिभी

काठमाडौं । जेठ १६, बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को दाउन्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोला नजिकै करिब ८ मिटर सडक भासिएपछि शुक्रबार बिहानैदेखि सवारी आवागमन ठप्प भएको हो। यस क्रममा एउटा तरकारी बोकेको बलेरो जिप समेत बाढीले बगाएको छ, यद्यपि मानवीय क्षति भने भएको छैन।

अस्थायी ट्राफिक प्रहरी कार्यालय बर्दघाटका प्रमुख, प्रहरी नायव निरीक्षक तिर्थराज भुसालका अनुसार, बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिममा अवस्थित उक्त क्षेत्रको सडक खण्ड भासिएको हो। “सडक स्तरोन्नतिको क्रममा हालै गरिएको ढलानसमेत उप्किएको छ,” भुसालले जानकारी दिनुभयो।

भासिएको भागमा आएको बाढीले पूर्वबाट पश्चिमतर्फ गइरहेको लु ३ च ८४९३ नम्बरको तरकारी बोकेको बलेरो जिप बगाएको थियो। मानवीय क्षति भने नभएको प्रहरी नायव निरीक्षक भुसालले पुष्टि गर्नुभयो। घटनास्थलमा राति करिब २ बजेदेखि नै सडक अवरुद्ध भएको र बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन।

सडक मर्मत गरी सवारी सञ्चालनको प्रयास गरिए पनि भासिएको खण्ड पुनः दबिएपछि एकतर्फी रूपमा चलाउने प्रयाससमेत विफल भएको जनाइएको छ। केही दिनअघि मात्रै यही सडक खण्ड आंशिक रूपमा बन्द गरेर निर्माण कार्य भइरहेको थियो। सामान्य वर्षामा पनि यो सडक खण्डमा लगातार सडक चिप्लिने र पहिरोको कारण अवरुद्ध हुने क्रम दोहोरिइरहेको स्थानीयले बताएका छन्।

सडक अवरुद्ध भएपछि अहिले पूर्वबाट पश्चिमतर्फ गइरहेका सवारीसाधन दुम्किबासको ज्यामिरेमा र पश्चिमबाट पूर्वतर्फ आइरहेका सवारी बर्दघाटमा रोकिएका छन्, जसका कारण सयौं यात्रु अलपत्र परेका छन्।

यसअघि पनि गत शुक्रबार यही स्थानमा सडक भासिँदा करिब ११ घण्टा पूर्ण रूपमा सडक बन्द भएको थियो।

यसैबीच, दुम्किबास इलाका प्रहरी कार्यालयका अनुसार विनयी खोलाको डाइभर्सनसमेत अविरल वर्षाले बगाएको छ। केही महिनाअघि विनयी खोलाको पुल भत्किएपछि हालसम्म डाइभर्सनबाट नै सवारी आवागमन हुँदै आएको थियो। डाइभर्सन बगाएपछि त्यहाँ पनि यातायात प्रभावित भएको छ।

प्रकाशित : 30 May, 2025

प्रतिक्रिया दिनुहोस्