अविरल वर्षाले पूर्वपश्चिम राजमार्ग र कोशी लोकमार्ग अवरुद्ध, झापामा २२ घरपरिवार विस्थापित

झापा । जेठ १७, मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गको विभिन्न खण्डमा सडक अवरुद्ध भएको छ। बाढीले डाइभर्सन बगाएपछि यातायात सेवा प्रभावित भएको हो। यसैबीच, झापामा माइखोलामा आएको बाढी बस्तीमा पसेर २२ घरपरिवार विस्थापित भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले काली खोलाको बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको जानकारी दिए। यद्यपि, वैकल्पिक मार्गबाट यातायात सञ्चालनमा ल्याइएको उनले बताए।
धुलाबारी नजिकको कल्भर्टको डाइभर्सन बाढीले बगाएपछि सो स्थानमा अस्थायी रूपमा माटो पुरेर एकतर्फी यातायात सुचारु गरिएको छ। यसैगरी, बुट्टाबारी-चारआली सडकखण्डमा पनि बाढीले डाइभर्सनमा क्षति पुर्याएको छ।
प्रहरी उपरीक्षक लिम्बुका अनुसार, निकासको अभावमा निर्माणाधीन सडकको डाइभर्सनमा पानी जमेका कारण यातायातमा समस्या देखिएको हो। “पुल कल्भर्ट निर्माणका लागि डाइभर्सन बनाइएको छ,” उनले भने, “सडक छेउमा माटो पुरेका डाइभर्सनमा केही समस्या आएको हो।”
उता, माइखोलामा आएको बाढी झापा गाउँपालिका २ मा बस्तीमा पसेको छ। नदीको बाढी बस्तीतर्फ गएपछि २२ घरपरिवार विस्थापित भएका छन्। घटनास्थलमा पुगेको प्रहरी र जनप्रतिनिधिको टोलीले स्थानीयलाई सुरक्षित स्थानमा सारेको लिम्बुले जानकारी दिए। उनका अनुसार, केही घरमा बाढीको पानी पसेको छ।
मनसुन भित्रिएको एक दिनमै वर्षासँगै आएको बाढीका कारण कोशी लोकमार्ग पनि अवरुद्ध भएको छ। थप विवरण आउन बाँकी छ।