गृहमन्त्रीको राजीनामा माग्नु अनुचित, प्रतिपक्षले निहुँ खोज्यो : प्रधानमन्त्री ओली

काठमाडौं । जेठ १७, प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेको आधारमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नुलाई निराधार र अनुचित क्रियाकलाप भएको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित ‘हाफ म्याराथुन’ शुभारम्भपछि सञ्चारकर्मी तथा ग्रुपका व्यवस्थापकहरूसँगको छलफलमा उनले गृहमन्त्री लेखकमाथि कुनै ठोस आरोप नलागेको र कुनै पनि निकायबाट छानबिन नभएको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग (बटमलाइन) राखेर सदन अवरोध गर्नु गलत भएको स्पष्ट पारे।
“म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहिँ चाहिन्छ,” प्रधानमन्त्री ओलीले भने, “गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन्। एउटा कर्मचारीलाई अख्तियारले बोलायो। बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु पर्दैन।”
उनले अगाडि थपे, “पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृहमातहतको सीआईबीले छानबिन गरिरहेको थियो। अहिले त्यस्तो अवस्था होइन त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो। यसरी विरोध गरिएको छ कि मानौँ ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन।” प्रधानमन्त्री ओलीले बच्चाहरूले झोलामा खेलौना हात्ती किनिदेउ भन्दा सकिने तर सक्कली हात्ती झोलामा हालिदेउ भन्दा नसकिने जस्तै विपक्षीको माग पूरा हुन नसक्ने तर्क गरे।
कुनै पार्टीभित्रका समस्या वा वैयक्तिक आकाङ्क्षाहरू हुन सक्ने भन्दै प्रधानमन्त्री ओलीले घर झगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई बाधा पुर्याउने काम नगर्न आग्रह गरे।
संसद्मा प्रस्तुत बजेटबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले यस पटकको बजेट यथार्थपरक र कार्यान्वयनयोग्य रहेको दाबी गरे। “हामीलाई त्यसै पपुलिष्ट हुनु छैन, राम्रा काम गर्नु छ,” उनले भने, “यथार्थभन्दा बाहिर गएर बजेट ल्याउनु भनेको अर्थतन्त्रलाई विनासको बाटोमा लाग्नु हो। गत वर्ष सात हजार आयोजनालाई विना आधार बढाइएको थियो। माइनस २४ प्रतिशतमा रहेको राजस्वलाई बढाएर ३० प्रतिशतमा लाने भन्ने निराधार प्रक्षेपण गरिएको थियो। हामी त्यस्तो गर्दैनौँ। हामीले पहिला पूर्वाधार विकासमा जोड दियौँ, पूर्वाधार विकासमा धेरै काम भएकाले अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान दिएका छौँ।”
कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलकुदले हरेक मानिसलाई जोड्ने र क्रियाशीलता बढाउने बताउँदै हाफ म्याराथुन आयोजनाका लागि कान्तिपुर मिडिया ग्रुपलाई धन्यवाद दिए।