रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा

सहयात्रा टिभी

ललितपुर। जेठ १८, वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो आज (आइतबार) ललितपुरको जावलाखेलमा विशेष समारोहका बीच देखाइँदैछ। यो जात्रा सयौँ वर्ष पुरानो परम्परा र रोचक किंवदन्तीसँग जोडिएको छ। यस अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

ऐतिहासिक पृष्ठभूमि र किंवदन्ती

रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने कार्यमा सक्रिय रहँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीका अनुसार, भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म ‘जावलाखेल जात्रा’ भनिन्थ्यो। ‘जा’ (भात) र ‘वला’ (छर्ने) शब्दबाट बनेको यो जात्रा भूत, प्रेतलाई खाना दिनका लागि गरिएको विश्वास छ। यद्यपि, भोटो जात्राको सुरुवातको यकिन तिथिमिति भने अझै पत्ता लाग्न सकेको छैन। मच्छिन्द्रनाथको मुख्य रथयात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको मानिन्छ।

प्रचलित किंवदन्तीअनुसार, मच्छिन्द्रनाथको यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो। वैद्यको खोजीमा निस्किएका कर्कोटकले खेतमा काम गरिरहेका एक किसानलाई वैद्य ठानेर नागलोक अर्थात् टौदह लगे। डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी आफ्नो हात माडेर निस्किएको मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए। उक्त औषधिले रानीको आँखा निको भयो। प्रसन्न भएका कर्कोटकले पुरस्कारस्वरूप मणिमाणिक्यले जडित भोटो ती किसानलाई दिएर मनुष्यलोकमा फर्काइदिए।

किसानले उक्त भोटो खेतको डिलमा राखेर काम गर्न थाले। त्यही बेला मनुष्यको रूप धारण गरेको एक भूतले भोटो चोरेर लग्यो। किसानले धेरै खोज्दा पनि भोटो फेला पार्न सकेनन्। केही समयपछि मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा उनले त्यही भूतले आफूले पुरस्कारमा पाएको भोटो लगाएको देखे। किसानले भोटो आफ्नो भएको दाबी गरे, तर भूतले दिन मानेन, जसले गर्दा विवाद उत्पन्न भयो।

विवाद समाधानका लागि कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो। लामो छलफलपछि भोटोमाथि दुवैको पूर्ण स्वामित्व हुन नसक्ने निष्कर्ष निकालियो र उक्त भोटो रातो मच्छिन्द्रनाथलाई जिम्मा लगाइयो। त्यसपछि, हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न भएपछि आधिकारिक प्रमाणसहित आउनेलाई भोटो हस्तान्तरण गर्ने वाचासहित सार्वजनिक रूपमा देखाउने परम्परा बस्यो। जोशीका अनुसार, त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको र अहिलेसम्म कसैले पनि प्रमाण जुटाएर भोटो लैजान नसकेको जनविश्वास छ।

वर्तमान परम्परा

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा यो भोटो देखाउने जात्रा सम्पन्न गर्दै आएका छन्। यो जात्राले काठमाडौँ उपत्यकाको सांस्कृतिक धरोहर र जीवन्त परम्परालाई प्रतिबिम्बित गर्दछ।

प्रकाशित : 1 June, 2025

प्रतिक्रिया दिनुहोस्