थाइल्याण्डकी ओपलले जितिन् ७२ औं मिस वर्ल्डको उपाधि

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, थाइल्याण्डकी सुन्दरी ओपल सुचाता चुआंगश्रीले ७२ औं मिस वर्ल्डको उपाधि जितेकी छन्। शनिबार साँझ भारतको हैदराबादमा भएको भव्य फाइनलमा उनलाई विजेता घोषित गरिएको हो।

अघिल्लो पटककी विजेता पोल्याण्डकी क्रिस्टिना पिस्ज्कोभाले ओपललाई मिस वर्ल्डको ताज पहिर्‍याइदिइन्। प्रतियोगितामा इथियोपियाकी सुन्दरी उपविजेता घोषित भइन् भने पोल्याण्ड र मार्टिनिक क्रमशः तेस्रो र चौंथो स्थानमा रहे।

अन्तिम चारमा अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मार्टिनिक, अफ्रिकाबाट इथियोपिया, युरोपबाट पोल्याण्ड र एसियाबाट थाइल्याण्डका प्रतिस्पर्धीहरू पुगेका थिए। कार्यक्रमको महत्वपूर्ण विधा ‘ब्युटी विथ अ पर्पस’को उपाधि भने इन्डोनेसियाले जित्न सफल भयो।

यस वर्षको मिस वर्ल्डमा नेपालसहित १०८ देशका सुन्दरीहरूले प्रतिस्पर्धा गरेका थिए। नेपालबाट सृच्छा प्रधानले सहभागिता जनाएकी थिइन्, तर उनी अन्तिम ४० मा पुग्न सकिनन्।

कार्यक्रममा बलिउड अभिनेता सोनु सुदलाई ‘मिस वर्ल्ड हुमानिटेरियन अवार्ड’ (मानवीय सेवा पुरस्कार) प्रदान गरिएको थियो। कोरोना महामारीको संकटका बेला उनले गरेको मानवीय सहयोगको कदर गर्दै यो सम्मान दिइएको हो। सुद प्रतियोगिताका निर्णायक (जज) मध्ये एक पनि थिए।

को हुन् विजेता ओपल ?

मिस वर्ल्ड बनेकी ओपल अन्तर्राष्ट्रिय सम्बन्ध विषयकी विद्यार्थी हुन्। भविष्यमा राजदूत बन्ने चाहना राख्ने ओपललाई मनोविज्ञान र मानवशास्त्रमा पनि गहिरो रुचि छ। उनले स्तन क्यान्सर पीडितहरूलाई सहयोग गर्ने संस्थाहरूमा स्वयंसेवकका रूपमा पनि काम गरेकी छिन्।

एकजना समर्थकले आफू क्यान्सरमुक्त भएको र १६ वर्षको उमेरमा शल्यक्रिया गर्दा ओपलबाट प्रेरणा पाएको बताएको क्षणलाई उनी आफ्नो जीवनको सबैभन्दा गर्विलो क्षण मान्छिन्। उनले भनेकी छिन्, “त्यतिबेला मैले महसुस गरें कि मेरो सबैभन्दा ठूलो डर आफ्नो सपना पूरा गर्ने मौका गुमाउनु हो।”

ओपल घरपालुवा जनावरप्रेमी पनि हुन्; उनीसँग १६ वटा बिराला र पाँचवटा कुकुर छन्। “तपाईं बाँचेको कारणले अर्को एक जीवनले सजिलोसँग सास फेर्न पाएको छ भनेर थाहा पाउनु नै सफल हुनु हो,” भन्ने उनको जीवनको आदर्श वाक्य रहेको छ।

प्रकाशित : 1 June, 2025

प्रतिक्रिया दिनुहोस्