पीएसजीले जित्यो पहिलो पटक च्याम्पियन्स लिग

सहयात्रा टिभी

काठमाडौँ। जेठ १८, फ्रान्सको चर्चित फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पहिलो पटक युईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। गएराति जर्मनीको म्युनिखस्थित एलियन्ज एरेनामा भएको फाइनल खेलमा पीएसजीले इटालीको क्लब इन्टर मिलानलाई ५-० को फराकिलो गोल अन्तरले हराउँदै ऐतिहासिक सफलता हात पारेको हो।

यो जितसँगै पीएसजीले यो सिजन तीन ठूला उपाधि जित्दै ‘ट्रेबल’ पनि पूरा गरेको छ। पीएसजीले यसअघि नै फ्रेन्च लिग वान र फ्रेन्च कपको उपाधि आफ्नो पोल्टामा पारिसकेको थियो।

पीएसजीका प्रशिक्षक लुइस एनरिकेले पनि एकै सिजनमा तीन मुख्य उपाधि जितेर ‘ट्रेबल’ गर्ने दोस्रो प्रशिक्षकको कीर्तिमान बनाएका छन्। यसअघि उनले सन् २०१५ मा स्पेनिस क्लब बार्सिलोनालाई पनि ‘ट्रेबल’ उपाधि जिताएका थिए। एनरिकेभन्दा अघि पेप ग्वार्डिओलाले बार्सिलोना र म्यानचेस्टर सिटीबाट यस्तो सफलता हात पारेका थिए।

पीएसजीको सानदार जितमा डेसिर डुएले दुई गोल गरे भने अचरफ हाकिमी, केभिचा केभारात्खेलिया र सेनी मायुलुले एक-एक गोल थपे। खेलको १२औं मिनेटमा हाकिमीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। त्यसपछि २०औं मिनेटमा डुएले गोल गरेपछि पहिलो हाफमा पीएसजी २-० ले अगाडि रह्यो।

दोस्रो हाफमा पीएसजीले थप आक्रामक खेल प्रस्तुत गर्‍यो। ६३औं मिनेटमा डुएले व्यक्तिगत दोस्रो गोल गरे भने ७३औं मिनेटमा केभारात्खेलियाले गोल गर्दै अग्रतालाई ४-० मा पुर्‍याए। खेलको ८७औं मिनेटमा वैकल्पिक खेलाडी मायुलुले गोल गरेपछि पीएसजीले ५-० को सानदार जित दर्ता गर्‍यो।

यो जित च्याम्पियन्स लिगको ७० वर्षे इतिहासमा फाइनल खेलमा भएको सबैभन्दा ठूलो गोल अन्तरको जित पनि हो। पीएसजी च्याम्पियन्स लिगको उपाधि जित्ने दोस्रो फ्रेन्च क्लब बनेको छ। यसअघि सन् १९९३ मा मार्सेले यो प्रतिष्ठित उपाधि जितेको थियो।

प्रशिक्षक लुइस एनरिकेका लागि यो दोस्रो च्याम्पियन्स लिग उपाधि हो। उनले यसअघि सन् २०१४/१५ को सिजनमा बार्सिलोनालाई च्याम्पियन्स लिग जिताएका थिए।

पीएसजीले सेमिफाइनलमा आर्सनललाई हराएर फाइनलमा स्थान बनाएको थियो भने इन्टर मिलानले बलियो टोली बार्सिलोनालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

प्रकाशित : 1 June, 2025

प्रतिक्रिया दिनुहोस्