प्रदर्शनमा उत्रिएका राजावादीहरूले गरे धर्ना सुरु

सहयात्रा टिभी

काठमाडौं । जेठ १८,  राजसंस्था र हिन्दू राज्यसहितका माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूले धर्ना सुरु गरेका छन् ।

राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

थापा पक्राउ परेलगत्तै आन्दोलनमा सहभागीहरूले धर्ना सुरु गरेका हुन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, थापासहित आइतबार पक्राउ परेका सबैलाई चाँडोभन्दा चाँडो रिहाइ गर्न माग गर्दै धर्ना सुरु गरिएको हो ।

उता, प्रहरीले भने निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, नारायणचौरबाट प्रर्दशनमा निस्किएको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।

उनका अनुुसार, पक्राउ परेका सबैलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याइँदैछ ।

गत १५ जेठबाट प्रदर्शन सुरु गरेका राजावादीले आज पनि नारायणचौरबाट आन्दोलन सुरु गरेका थिए । राजसंस्था पुनस्थापना र हिन्दु राज्यसहितको माग राखेर भइरहेको प्रदर्शन हिजो बालुवाटार नजिकै पुगेको थियो ।

आज पनि नारायणचौरबाट राजावादीको प्रदर्शन बालुवाटारतर्फ जाँदै थियो । सो क्रममा राजावादीहरू उग्र हुँदै निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेको प्रहरीको दाबी छ ।

प्रधानमन्त्री, सभामुख लगायतको सरकारी निवास रहेको बालुवाटार क्षेत्रलाई सरकारले यसअघि नै निषेधित क्षेत्र घोषणा गरेको थियो ।

 

 

प्रकाशित : 1 June, 2025

प्रतिक्रिया दिनुहोस्