राजावादीको उपत्यका बन्द फिर्ता

सहयात्रा टिभी

काठमाडौं । जेठ १९, राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले आजका लागि आह्वान गरेको काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ। आइतबारको प्रदर्शनका क्रममा पक्राउ परेका सम्पूर्ण व्यक्तिहरू रिहा भइसकेपछि समितिले बन्दको कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो।

समितिका संयोजक नवराज सुवेदीले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ।”

आइतबार काठमाडौंमा आयोजित प्रदर्शनका क्रममा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंह लगायत केही प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको थियो। सोही घटनाको विरोधमा समितिले उपत्यका बन्दको घोषणा गरेको थियो। यद्यपि, पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरूलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको थियो । जसपश्चात् बन्दको औचित्य नरहेको समितिले जनाएको छ।

यसैबीच, संयुक्त जनआन्दोलन समितिमा आबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भने बन्द हड्तालजस्ता अलोकप्रिय कार्यक्रमको विपक्षमा आफ्नो पार्टी रहेको र घोषित उपत्यका बन्दमा राप्रपा सहभागी नहुने जनाएका थिए।

प्रकाशित : 2 June, 2025

प्रतिक्रिया दिनुहोस्