देशव्यापी सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित, यात्रुहरु अलपत्र

सहयात्रा टिभी

काठमाडौं । जेठ १९, गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी ल्याएको नियमावलीको विरोधमा यातायात व्यवसायीहरूले आज आह्वान गरेको देशव्यापी सार्वजनिक यातायात बन्दले यात्रुहरु मर्कामा परेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा गरिएको बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन नचल्दा देशभरको जनजीवन प्रभावित बनेको हो।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवस्था विभाग र प्रदेश सरकारहरूले आफूहरूसँग पर्याप्त छलफल नगरी एकलौटी रूपमा कानुन र नियमावली ल्याएको आरोप लगाउँदै कालो नम्बर प्लेटका सबै प्रकारका सार्वजनिक यातायातका साधन सातवटै प्रदेशमा ठप्प पारिएको जानकारी दिए। उनले भने, “हाम्रा मागहरू सम्बोधन नभएसम्म र हामीसँग सार्थक संवाद नभएसम्म आन्दोलन जारी रहन सक्छ।”

राजधानी काठमाडौं उपत्यकामा पनि बन्दको पूर्ण प्रभाव देखिएको छ। बिहानैदेखि सार्वजनिक बस, माइक्रोबस, र टेम्पोहरू सञ्चालनमा नआउँदा सडकहरू प्रायः सुनसान देखिएका छन्। फाट्टफुट्ट निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरू चलेका छन् । बस स्टपहरूमा गाडी कुरिरहेका यात्रुहरूको भीड देखिन्छ। कतिपय यात्रुहरू पठाओजस्ता राइडशेयरिङ सेवामार्फत गन्तव्यमा गइरहेका देखिन्छन् । धेरैजसो पैदलै गन्तव्यतर्फ लागिरहेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अघिल्लो दिनको तुलनामा आज सार्वजनिक सवारी साधन नगन्य मात्रामा चलेको जनाएको छ।

प्रकाशित : 2 June, 2025

प्रतिक्रिया दिनुहोस्