आईसीसी विश्वकप लिग-२ : नेपालले आज स्कटल्यान्डसँग खेल्दै

काठमाडौं । जेठ १९, आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज आज (सोमबार) देखि स्कटल्याण्डमा सुरु हुँदैछ। सिरिजको उद्घाटन खेलमा नेपालले आयोजक स्कटल्याण्डको सामना गर्नेछ।
यो महत्वपूर्ण खेल फोर्थहिल, डन्डीस्थित क्रिकेट मैदानमा नेपाली समयानुसार अपराह्न ३:४५ बजेदेखि सुरु हुनेछ। लिग-२ को अंक तालिकामा पुछारमा रहेको नेपालका लागि यो सिरिज अंक सुधार गर्ने र आफ्नो स्थिति बलियो बनाउने महत्वपूर्ण अवसर हो।
त्रिकोणात्मक सिरिजमा नेपाल, घरेलु टोली स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच खेल हुनेछ । नेपालले यस सिरिज अन्तर्गत दोस्रो खेल जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग खेल्नेछ। त्यसपछि जुन ८ मा पुनः स्कटल्याण्डसँग र जुन १० मा नेदरल्याण्ड्ससँग खेल्दै सिरिजको अन्त्य गर्नेछ।
हालसम्म लिग-२ को अंक तालिकामा नेपालले १२ खेल खेल्दा २ मा मात्र जित हात पार्दै आठौं स्थानमा रहेको छ। तालिकाको शीर्ष स्थानमा २० खेलबाट २८ अंक जोडेको अमेरिका छ भने २६ अंकसहित नेदरल्याण्ड्स दोस्रो र २४ अंकसहित ओमान तेस्रो स्थानमा छन्। चौथो स्थानको स्कटल्याण्डले २० अंक जोडेको छ भने समान अंकसहित क्यानडा पाँचौं स्थानमा छ। त्यसपछि क्रमशः नामिबिया, युएई र नेपाल रहेका छन्।
यो लिग-२ को त्रिकोणात्मक सिरिजपछि नेपालले यिनै दुई टोली, स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग टी-२० अन्तर्राष्ट्रिय सिरिज पनि खेल्ने तालिका रहेको छ। टी-२० सिरिज भने असार २ गतेदेखि सुरु हुनेछ।
स्कटल्याण्ड भ्रमणका लागि नेपाली टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), आसिफ सेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल।