गाडी बन्दको मौका छोपी बढी भाडा लिने राइडरहरुलाई कारबाही

काठमाडौं । जेठ २०, यातायात व्यवसायीहरूले गरेको गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने २ सय १८ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
यात्रुबाट बढी भाडा असुलेको, अफलाइन बार्गेनिङ गरेको तथा यात्रुलाई हैरानी दिने राइडरहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
यातायात व्यवसायीहरुले सार्वजनिक गाडी नचलाउँदा काम विशेषले ठाउँमा पुग्नुपर्नेहरुले पठाओ, इनड्राइभ, याङ्गोजस्ता राइड शेयरिङ प्रयोग गर्न बाध्य छन् ।
यीमध्ये केही चालकहरुले मनलाग्दी भाडा लिएको यात्रुको गुनासो छ । यात्रुले गुनासो गरेपछि प्रहरीले कडाइ गरेको छ । जथाभावी भाडा लिने राइड शेयरिङ सञ्चालकलाई कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।