राष्ट्रपति पौडेलद्वारा जातीय विभेदविरुद्ध दृढ अडानको आह्वान

सहयात्रा टिभी

काठमाडौं । जेठ २१,  राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताए।

राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै जातीय विभेदलाई सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराधको संज्ञा दिएका छन्। उनले सामाजिक जागरण र समभावको विकासका लागि सबै जातजाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोग अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिएर लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

राष्ट्रपतिले छुवाछूत तथा विभेदविरुद्धको अभियानमा व्यक्ति, परिवार, समाज, तीनै तहका सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र सञ्चारकर्मीलाई थप संवेदनशील हुन आह्वान गरेका छन्।

सन्देशमा नेपालको संविधानले बहुलतायुक्त विशेषतालाई आत्मसात् गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरेको स्मरण गराइएको छ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले सबै प्रकारका विभेद तथा उत्पीडनको क्रमशः अन्त्यका लागि महत्वपूर्ण आधार निर्माण गर्न सम्बन्धित निकायलाई प्रेरणा दिने विश्वास राष्ट्रपतिले व्यक्त गरेका छन्। सोच, शैली, प्रथा, सामाजिक प्रचलन तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याई आपसी एकता, मेलमिलाप तथा सद्भावको अभिवृद्धिबाट जातीय भेदभाव तथा छुवाछूतजन्य व्यवहारलाई न्यूनीकरण गर्न सकिने विचार उनको छ।

राष्ट्रपति पौडेलले यो दिवसले सुसंस्कृत, छुवाछूतरहित, समतामूलक र समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। उल्लेखनीय छ, वि.सं. २०६३ जेठ २१ गते सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’का रूपमा मनाइँदै आएको छ।

प्रकाशित : 4 June, 2025

प्रतिक्रिया दिनुहोस्