दुवै सदनको बैठक बस्दै, बजेटमाथि छलफलको तयारी

काठमाडौं । जेठ २१, सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १:०० बजेका लागि बोलाइएको छ।
आजको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भनी वक्तव्यसहित प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उक्त प्रस्तावमाथि आजै छलफल प्रारम्भ हुनेछ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ सदनसमक्ष पेस गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रियसभाको बैठक भने दिउँसो १:१५ बजे सुरु हुनेछ। यस बैठकमा पनि अर्थमन्त्री पौडेलले ‘राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।