वाईसीएलको तेस्रो सम्मेलन जारी

काठमाडौं । जेठ २१, नेकपा माओवादी केन्द्रनिकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो सम्मेलन जारी छ । तर, प्रतिनिधिको टुंगो अझै लागिसकेको छैन ।
सहमतिबाट नेतृत्व चयन हुन नसके मतदान प्रक्रियाबाट निर्वाचित कमिटी ल्याउने तयारी भएकाले सम्मेलनका प्रतिनिधिको टुंगो लगाउने तयारी हुँदैछ ।
वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ का अनुुसार प्रतिनिधिहरूको रुजु गर्ने कार्य जारी रहेको छ । ‘प्रतिनिधिहरूको रुजु गर्ने भइरहेको छ । प्रतिनिधि फाइनल गरेपछि मात्रै सहमतिमा कि निर्वाचनबाट नेतृत्व चयन गर्ने चरणमा प्रवेश गर्नेछौं,’ दीपशिखाले भने ।
महाधिवशेनका लागि प्रारम्भिक नामावली १६ सय थियो । सःशुल्क कार्ड लिनेहरूको आधारमा प्रतिनिधि टुंगो लाग्ने संगठनका नेताहरूले जानकारी गराएका छन् ।
प्रतिनिधिका लागि सःशुल्क कार्ड लिनेको संख्या एक हजारदेखि १२ सयसम्म हुने जानकारी गराइएको छ ।
आइतबारबाट सुरु भएको वाईसीएलको तेस्रो सम्मेलनमा अध्यक्षका आकांक्षी १३ जना छन् । केन्द्रीय समिति र पदाधिकारी बैठकमा आकांक्षीहरूको नाम संकलन गर्दा अध्यक्षका लागि १३ जनाले नाम टिपाएका थिए ।