नवनियुक्त राष्ट्रपति लीले उत्तर कोरियासँग युद्धको घाउ निको पार्ने प्रतिबद्धता व्यक्त

काठमाडौं । जेठ २१, दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति ली जे–म्युङले आणविक शक्ति सम्पन्न उत्तर कोरियासँग सम्पर्क गरेर विभाजन र युद्धको ‘घाउ निको पार्ने’ प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
ली दक्षिण कोरियाका नयाँ मध्यमार्गी वामपन्थी नेता हुनुहुन्छ । उहाँले ‘बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचना’ ले एशियाको निर्यातमा निर्भर चौथो ठूलो अर्थतन्त्रका लागि अस्तित्वको खतरा उत्पन्न गरेको चेतावनी पनि दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
राष्ट्रपति लीले उत्तर कोरियाको उक्साहटविरुद्ध ‘तत्परता’ कायम राख्न शीर्ष सेन्य कमान्डरलाई आग्रह गर्नुभएको छ ।
उहाँले उत्तर कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि सञ्चारमाध्यम खोल्ने तथा वार्ता र सहकार्यलाई अगाडि बढाउने क्रममा उत्तर कोरियाको आणविक र सैन्य उक्साहटलाई रोक्ने बताउनुभएको छ ।
मध्यावधि चुनावमा लीले पूर्वराष्ट्रपति युन सुक योलको पूर्वपार्टी कन्जरभेटिभ पार्टीका नेता किम मुन–सोलाई पराजित गर्दै विजयी हुनुभएको हो ।
राष्ट्रपति लीको डेमोक्रेटिक पार्टीले पहिले नै संसदीय बहुमत प्राप्त गरिसकेको छ, यसको अर्थ उहाँ आफ्नो विधायिकी एजेन्डा पूरा गर्न आउँदो तीन वर्षका लागि सुरक्षित र सक्षम हुनेुहुनेछ ।