अग्निविरुद्ध सर्वोच्चको आदेशले माओवादी सशंकित: ‘पोजेटिभ म्यासेज’ नदिएको निष्कर्ष

सहयात्रा टिभी

काठमाडौं । जेठ २२, नेकपा माओवादी केन्द्रले आफ्ना उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटा विरुद्धको द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले पुनः अनुसन्धान गर्न दिएको आदेशले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सहयोग नगर्ने बरु अनावश्यक राजनीतिक विवाद सिर्जना गर्ने ठहर गरेको छ।

फाइल तस्वीर

द्वन्द्वकालीन मुद्दाहरू सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) मार्फत टुंग्याउनुपर्नेमा प्रहरीलाई छानबिनको जिम्मा दिनु उपयुक्त नभएको माओवादी नेताहरुको तर्क छ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले सर्वोच्चको आदेशलाई “राम्रो संकेत नभएको” र यसले “नेपालको शान्ति प्रक्रिया टुंग्याउने कुरामा सकारात्मक सन्देश नदिएको” बताए । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि भएको हत्यामा सापकोटाको संलग्नता रहेको आरोप लगाउँदै उनकी पत्नी पूर्णिमाया लामा, सुशील प्याकुरेल, कनकमणि दीक्षित लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए। बुधबार सर्वोच्चको संवैधानिक इजलासले उक्त उजुरीमा अनुसन्धान अघि बढाउन र सापकोटाविरुद्धको अनुसन्धान रोक्ने तत्कालीन सरकारको निर्णयलाई समेत बदर गरिदिएको थियो।

यो आदेशपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बिहानै केन्द्रीय कार्यालयको बैठक बोलाएर छलफल गरेका छन् । बैठकमा सापकोटा पनि सहभागी थिए ।

उपमहासचिव शर्माले द्वन्द्वकालीन मुद्दा टुंग्याउन र पीडितलाई परिपूरण दिन आयोग बनिसकेको र अदालतको निर्देशनअनुसार नै कानुन बनेकाले मुद्दा आयोगमै पठाउनुपर्नेमा जोड दिए । उनले सर्वोच्चको निर्णयले शान्ति प्रक्रियामा चुनौती थपेको र अनावश्यक आशंका तथा विवाद निम्त्याउने बताए ।

माओवादीका अर्का नेता नारायणप्रसाद शर्माले यसलाई सापकोटा र समग्र माओवादीमाथिकै आक्रमणको रूपमा लिँदै “प्रतिक्रियावादी र प्रतिगामी षड्यन्त्रको सुरुवात” को संज्ञा दिएका छन् र यसको सशक्त प्रतिरोध गर्नुपर्ने धारणा राखे ।

प्रकाशित : 5 June, 2025

प्रतिक्रिया दिनुहोस्