आज विश्व वातावरण दिवस मनाइदै

काठमाडौं । जेठ २२, आज, जुन ५ तारिख, विश्वभर विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँदैछ। यस वर्षको नारा ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ रहेको छ। नेपालका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमसहित मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउन थालिएको हो। संयुक्त राष्ट्रसङ्घका अनुसार यस वर्ष दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गरिँदैछ। राष्ट्रसङ्घले औंल्याएअनुसार, विश्वमा वार्षिक ४० करोड टन प्लास्टिकजन्य फोहोर उत्पादन हुन्छ, जसमध्ये केवल १० प्रतिशत मात्र पुनः प्रयोगमा आउँछ भने करिब १ करोड १० लाख टन प्लास्टिक नदी, ताल र महासागरमा मिसिने गरेको छ।
यसैगरी, आजकै दिन अर्थात् जुन ५ लाई गैरकानुनी रूपमा माछामार्नेविरुद्धको सङ्घर्ष दिवसका रूपमा पनि मनाइन्छ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन थालिएको हो। एफएओले दिगो विकास लक्ष्य हासिल गर्नका लागि यस्तो गैरकानुनी माछा मार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिएको छ। यसरी अवैध रूपमा गरिने माछा मार्ने कार्यले हरेक वर्ष करिब १ करोड १० लाख देखि २ करोड ६० लाख टनसम्म माछा मारिने र यसबाट अर्बौं डलर बराबरको हानि हुने गरेको एफएओको तथ्याङ्क छ।