बाढीको जोखिम: आज यी ९ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

सहयात्रा टिभी

काठमाडौं । जेठ २३, बाढी पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशका ९ जिल्लाका साना नदीहरूमा बाढीको जोखिम बढेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मनसुनी वर्षाका कारण ती क्षेत्रका खोला तथा नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको हो।

फाइल तस्बिर

महाशाखाले शुक्रबार बिहान ८ बजे जारी गरेको विशेष बुलेटिनअनुसार इलामदेखि सर्लाहीसम्मका जिल्लाहरूका साना नदीमा पानीको बहाव सतर्कता तह आसपाससम्म पुग्न सक्ने चेतावनी दिइएको छ।

यी जिल्लाहरूमा विशेष सावधानी

महाशाखाले विशेषगरी प्रदेश १ र मधेश प्रदेशका इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, धनुषा, धनकुटा, र सर्लाही जिल्लालाई जोखिमको सूचीमा राखेको छ। यी जिल्ला तथा आसपासका क्षेत्र भई बहने साना र मझौला नदीहरूमा बाढी आउन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्र तथा होचा भू-भागमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन र सुरक्षित रहन भनिएको छ।

ठूला नदीहरूको अवस्था के छ ?

यद्यपि, आगामी तीन दिन (आइतबारसम्म) देशका प्रमुख नदीहरूको अवस्था सामान्य नै रहने महाशाखाको अनुमान छ। कोशी, नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्ती र बबई जस्ता ठूला नदीको जलसतह सतर्कता तहभन्दा तलै रहनेछ।

तर, यी नदीहरूको बहावमा पनि सामान्य घटबढ भइरहने भएकाले नदी किनारमा गरिने आर्थिक तथा सामाजिक क्रियाकलापमा सामान्य सतर्कता अपनाउन सुझाइएको छ। विशेषगरी कन्काई, कमला र बागमती नदीमा बहाव केही हदसम्म बढ्न सक्ने देखिएकाले ती क्षेत्रका बासिन्दालाई पनि चनाखो रहन आग्रह गरिएको छ।

प्रकाशित : 6 June, 2025

प्रतिक्रिया दिनुहोस्