‘जन्ते बाख्रो’ आजदेखि देशैभर प्रदर्शनमा, उत्साहजनक शो

सहयात्रा टिभी

काठमाडौं । जेठ २३, सामाजिक कमेडी कथावस्तुमा बनेको फिल्म ‘जन्ते बाख्रो’ आज शुक्रबारदेखि देशैभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ । गत बुधबार साँझ आयोजित प्रिमियर शोमा समीक्षक तथा चलचित्रकर्मीबाट उत्कृष्ट प्रतिक्रिया पाएको यो फिल्मले सेन्सरबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ ।

फिल्मले प्रदर्शनको पहिलो दिन नै देशभरका मल्टीप्लेक्स तथा सिंगल स्क्रिनमा उत्साहजनक शो पाएको छ, जसले यसको अग्रीम टिकट बुकिङमा देखिएको आकर्षणलाई पुष्टि गर्छ । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १७ र बाहिर २० गरी कुल ३७ शो उपलब्ध गराएको छ । यस्तै, आईएनआई सिनेमाजले १२, वान सिनेमाजले ७, एफक्युब, बिग मुभिज र बिएसआर मुभिजले २/२ शो उपलब्ध गराएका छन् । समग्रमा, फिल्मले देशभर करिब १५० भन्दा बढी शोबाट आफ्नो यात्रा सुरु गरेको छ ।

सिमोस सुनुवारको निर्देशनमा बनेको यस फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्मले नेपाली समाजमा बेहुली भित्र्याउँदा जन्तीलाई खुवाइने ‘जन्ते बाख्रो’को परम्परालाई रोचक सामाजिक कमेडीको रूपमा प्रस्तुत गरेको छ । प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको फिल्मका निर्माता सन्तोष गौतम हुन् ।

फिल्मको आकर्षक सिनेमाटोग्राफी उत्तम हुँमागाईले गरेका छन् भने सम्पादन सुनिल शिवभक्तिको रहेको छ । टिफल्क फिल्मस्‌ले वितरण गरेको यो सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरिसकेको छ ।

प्रकाशित : 6 June, 2025

प्रतिक्रिया दिनुहोस्