त्रिविका प्राध्यापकको छानबिन अन्तिम चरणमा

काठमाडौं । जेठ २३, त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको छानबिन अन्तिम चरणमा पुर्याएको छ ।
त्रिविका रजिस्ट्रार प्रा.डा. केदार प्रसाद रिजालका अनुसार छानबिन समितिले तथ्यांक संकलन गरिसकेर रुजु गर्ने काम गरिरहेको बताए । ‘छानिबिन समितिलाई ताकेता गरिरहेको छु । अर्को हप्ता रिपोर्ट पेस हुन्छ । तथ्यांक संकलन गरेर रुजु गर्ने काम भइरहेको छ,’ उनले भने ।
त्रिविले डा. जीवन काफ्लेको संयोजकत्वमा खोजबिन समिति बनाएको थियो । समितिले क्याम्पस–क्याम्पसमा पुगेर नफर्किने प्राध्यापकहरुको सूचि तयार पारेको छ ।
त्रिविका प्राध्यापकले अध्ययनका लागि ५ वर्षको तलबी बिदा पाउँछन् । बिदा सकिएपछि फर्किएर जति बिदामा बसेको हो सो बराबर काम गर्नुपर्ने नियम छ ।
त्रिविको नियममा ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।
यदि नफर्किएमा आफूले बिदामा बसेको अवधिको सबै तलब भत्तामा १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने नियम छ । तर अध्ययन बिदामा गएका धेरैजसो प्राध्यापक नफर्किने र तलब भत्ता पनि फिर्ता नगर्ने गरेको पाइएको छ ।
त्रिविको १० वर्षको तथ्यांक हेर्दा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएको देखिन्छ । तर यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने अभिलेख त्रिविसँग छैन ।
१० वर्षमा बिदा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि न्यूनतम २ अर्ब बढी गएको छ । अध्ययन बिदामा गएका प्राध्यापक नफर्किदा त्रिविले आर्थिक क्षति अनि शैक्षिक समस्या र नैतिक नोक्सानी व्यहोरिरहेको छ ।