पूर्वराजा झापाको चिया बगानमा सुस्ताउँदै, आन्दोलनको राप छल्न कि नियमित भ्रमण ?

सहयात्रा टिभी

काठमाडौं । जेठ २३, एकातिर राजधानी काठमाडौँका सडकमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादी गठबन्धनले दिनहुँ धर्ना र जुलुस गरिरहेको छ । अर्कोतिर जसका लागि आन्दोलन भइरहेको छ, ती पूर्वराजा ज्ञानेन्द्र शाह भने राजधानीको कोलाहलबाट टाढा झापास्थित आफ्नै चिया बगानमा आराम गरिरहेका छन्। जेठ १५ गतेदेखि सुरु भएको आन्दोलनलाई सरकार र गणतन्त्रवादी दलहरूले बेवास्ता गरिरहँदा पूर्वराजाको यो झापा बसाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

रणनीतिक दूरी कि नियमित बसाइ ?

पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र भतिजी शिताष्मासहित जेठ ११ गते, अर्थात् आन्दोलन सुरु हुनुभन्दा चार दिनअघि नै झापाको दमकस्थित आफ्नो निजी हिमालय महालक्ष्मी चिया बगान पुगेका हुन्। उनको यो भ्रमण करिब दुई साता लामो हुने स्रोतले जनाएको छ।

उनका प्रमुख सचिव सागरप्रसाद तिम्सिनाले यसलाई “निजी र पारिवारिक भ्रमण” बताउँदै कुनै औपचारिक कार्यसूची नरहेको दाबी गरेका छन्। हुन पनि चिया टिप्ने यो मौसममा उनको दमक भ्रमण नियमित जस्तै हो। तर, काठमाडौँमा आन्दोलनको राप बढिरहेका बेला उनको अनुपस्थितिलाई धेरैले एक रणनीतिक कदमका रूपमा विश्लेषण गरेका छन्।

विगतको तितो अनुभव र अहिलेको सतर्कता

गत चैतमा व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा काठमाडौँमा भएको हिंसात्मक आन्दोलनले निम्त्याएको क्षति र त्यसपछि आफूमाथि लागेको आरोपबाट पूर्वराजा असन्तुष्ट रहेको बताइन्छ। उक्त आन्दोलनमा भएको आगजनी र मानवीय क्षतिको जिम्मेवारी आफूले लिनुपर्ने भन्दै प्रधानमन्त्रीदेखि गणतन्त्रवादी नेताहरूले आलोचना गरेपछि उनी अहिलेको आन्दोलनबाट भौतिक रूपमा टाढा बसेर सम्भावित दोषबाट बच्न खोजेको स्रोतको दाबी छ। “आफू झापामा बसेपछि काठमाडौंमा भएको आन्दोलनमा केही गडबडी भए पनि आरोप लाग्दैन भन्ने उहाँको विश्वास देखिन्छ,” एक स्रोतले भन्यो।

झापामा भेटघाट भने जारी

काठमाडौँको आन्दोलनबाट टाढा रहे पनि झापामा भने उनको सक्रियता घटेको छैन। राजाको प्रत्यक्ष शासनकालमा पूर्वाञ्चल क्षेत्रीय प्रशासक भएका वल्लभ दाहालका अनुसार, पूर्वराजा दमक आउँदा समर्थकहरूसँगको भेटघाट नियमित प्रक्रिया हो। उनका निजी सचिव राजेश्वरबहादुर सिंहले भेटघाटको संयोजन गरिरहेका छन् र पूर्वका विभिन्न जिल्लाबाट राजावादीहरू उनलाई भेट्न दमक पुगिरहेका छन्।

प्रहरी भन्छ- ‘औपचारिक जानकारी छैन’

पूर्वराजाको भ्रमणबारे जिल्ला प्रहरी कार्यालयलाई कुनै औपचारिक जानकारी छैन। झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुले उनको सुरक्षाका लागि छुट्टै संयन्त्र रहेकाले आफूहरूसँग समन्वय नहुने बताए। यद्यपि, अनौपचारिक रूपमा भने उनी दमकमा रहेको जानकारी प्रहरीलाई छ। यसले उनको भ्रमणको निजी र अनौपचारिक चरित्रलाई थप पुष्टि गर्छ।

प्रकाशित : 6 June, 2025

प्रतिक्रिया दिनुहोस्