संघीय निजामती ऐनको माग गर्दै कर्मचारी आन्दोलनमा, देशभर कालोपट्टी बाँधेर विरोध

काठमाडौं । जेठ २५, कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै देशभरका निजामती कर्मचारीहरूले आजदेखि आन्दोलन सुरु गरेका छन् । उनीहरूले हातमा कालोपट्टी बाँधेर सरकारलाई दबाब दिन थालेका हुन् ।
विभिन्न राजनीतिक दल निकट कर्मचारी ट्रेड युनियनहरूको साझा सञ्जाल, ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल’, को आह्वानमा यो देशव्यापी विरोध कार्यक्रम थालिएको हो । यस सञ्जालमा निजामती कर्मचारी संगठन, कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन लगायत ६ वटा संगठन आबद्ध छन् ।
आन्दोलनरत कर्मचारीहरूले संसदमा प्रस्तावित विधेयकमा रहेका कर्मचारीको वृत्ति विकासमा असर पार्ने र अन्य अव्यवहारिक प्रावधानहरू हटाएर मात्र ऐन पारित गर्न सरकार र प्रमुख राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका छन् । उनीहरूले लामो समयदेखि ऐन जारी गर्न दबाब दिँदै आए पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।